बर्दिया,२३ भदौ ।
कर्णाली नदीबाट भदाली खोलामा छिरेको बाढीले बर्दियाको राजापुर नगरपालिका–१ हिमालीपुरका चार घर डुबानमा परेका छन्। नदीमा जलस्तर निरन्तर बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दा थप जोखिममा परेका छन्।
बाढीले घर डुबाएपछि कल्ल सोनाहा, कल्ला सोनाहा, छेदुवा सोनाहा र राजेन्द्र सोनाहाको परिवारलाई सोमबार सुरक्षित स्थानमा सारिएको राजापुर नगरपालिका–१ का वडाध्यक्ष बाबुराम चौधरीले बताउनुभयो। उहाँका अनुसार नदीको पानी बढ्दै गएकाले तटीय क्षेत्रमा रहेका अन्य परिवारलाई समेत सतर्क रहन आग्रह गरिएको छ।
घर डुबानमा परेपछि सुरक्षित स्थानमा सारिएका परिवारलाई बस्नसमेत समस्या भएको छ। वर्षायाममा पटक–पटक बाढी र डुबानको सामना गर्नुपर्ने स्थानीयहरू यसपटक पनि राति पानीको सतह बढेपछि घरमा बस्न असहज भएको बताउँछन्। घरभित्र पानी पस्दा दैनिक उपभोगका सामान जोगाउन र बालबालिका तथा वृद्धवृद्धालाई सुरक्षित राख्नसमेत कठिन भएको उनीहरूको भनाइ छ।
स्थानीय शंकर थारूका अनुसार चनौरा क्षेत्रमा नदीले कटान गरिरहेको छ। कर्णालीमा जलस्तर अझै बढे सिंगो वडा नै बाढीको चपेटामा पर्ने जोखिम रहेको उहाँले बताउनुभयो। “पानी यसरी नै बढ्दै जाने हो भने गाउँमा बाढी पस्ने र दर्जनौँ घर डुबानमा पर्ने अवस्था आउन सक्छ,” उहाँले भन्नुभयो।
कर्णाली नदीको तटीय क्षेत्रअन्तर्गत टिउनीलगायत स्थान पनि बाढीको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। राजापुर–४ का वडाध्यक्ष विदुर पोखरेलका अनुसार दौलतपुर घाटमा निर्माण भएको झोलुङ्गे पुलदेखि दक्षिणतर्फ नदीले कटान गरिरहेको छ। केही स्थानमा तटबन्ध निर्माणको काम अधुरै रहेकाले जोखिम थप बढेको उहाँले बताउनुभयो।
सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय, राजापुरका इन्जिनियर नवीन जोशीका अनुसार सम्बन्धित क्षेत्रमा जंगल र सडकको पहुँच नहुँदा तटबन्ध निर्माणमा समस्या भइरहेको छ। उहाँका अनुसार सोमबार बिहानसम्म कर्णाली नदीमा करिब ८ दशमलव ५ मिटर पानीको बहाव रहेको थियो। पानीको बहाव नरोकिएकाले जलस्तर अझै बढिरहेको उहाँले बताउनुभयो।
कर्णाली नदीमा पानीको सतह १० मिटरभन्दा माथि पुगे राजापुर नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा पर्ने जोखिम रहेको आयोजना कार्यालयले जनाएको छ। आयोजना प्रमुख सुदिन मुक्तानका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्नासाथ भदाली खोलाबाट बस्तीमा पानी पस्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।
पाँच वर्षमा ७१ किलोमिटर तटबन्ध बनाउने योजना, २२ किलोमिटरमै सीमित
कर्णाली र यसको भंगालो गेरुवा नदीको तटबन्ध निर्माणका लागि सरकारले गुरुयोजनाअनुसार ठूलो लगानीको योजना अघि सारे पनि काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
२०७१ फागुनमा स्वीकृत गुरुयोजनाअनुसार कर्णाली र गेरुवा नदीमा तटबन्ध निर्माणका लागि १२ अर्ब ८० करोड ७४ लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो। पाँच वर्षभित्र ७१ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि २०८३ असारसम्म करिब २२ किलोमिटर मात्रै तटबन्ध निर्माण भएको आयोजना कार्यालयले जनाएको छ।
नदी कटानबाट खेतीयोग्य जमिन जोगाउने र बाढी तथा डुबानबाट बस्तीलाई सुरक्षित गर्ने उद्देश्यले सरकारले यहाँ छुट्टै आयोजना कार्यालय स्थापना गरेको हो। तर, मागअनुसार बजेट निकासा नहुँदा तटबन्ध निर्माणको काम सुस्त भएको आयोजना प्रमुख मुक्तानले बताउनुभयो।
तटबन्ध निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा हरेक वर्ष कर्णालीको जलस्तर बढेसँगै तटीय बस्तीका बासिन्दाले बाढीको त्रासमा बस्नुपर्ने अवस्था छ। स्थानीयहरू स्थायी रूपमा बाढीबाट सुरक्षित हुने गरी अधुरा तटबन्ध पूरा गर्न र जोखिमयुक्त क्षेत्रमा तत्काल संरक्षणका काम अघि बढाउन माग गरिरहेका छन्।









