बर्दिया,२ असोज ।
Safe Future Project अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा विद्यालय व्यवस्थापन समिति (SMC) तथा प्रमुख विद्यालय सरोकारवालाहरूसँग विभिन्न बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्। उक्त परियोजना Radhakrishna Tharu Jana Sewa Kendra (RKJS), Banke UNESCO Club (BUC) र Plan International Nepal को साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन भइरहेको छ।
बढैयाताल गाउँपालिकामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त बैठक सम्पन्न भयो। बैठकमा विद्यालयको समग्र सुधार, बाल संरक्षण, सुरक्षित तथा समावेशी विद्यालय वातावरण निर्माण र विद्यालय व्यवस्थापन समितिको प्रभावकारी भूमिका तथा नेतृत्व सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।
त्यसैगरी, गुलरिया नगरपालिकामा Safe Future Project को कार्यक्षेत्रभित्र रहेका चार विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ (PTA), प्रधानाध्यापक तथा बाल क्लबका प्रतिनिधिहरूसँग संयुक्त बैठक तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा बाल संरक्षण तथा सुरक्षा, नियमित विद्यालय उपस्थिति, सिकाइको निरन्तरता, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा विद्यालय, परिवार र समुदायबीचको समन्वय सुदृढीकरणका विषयमा छलफल भयो।
कार्यक्रमले बालबालिकाका लागि सुरक्षित, समावेशी तथा बालमैत्री सिकाइ वातावरण निर्माण गर्न विद्यालय, परिवार, समुदाय तथा अन्य सरोकारवालाबीचको सक्रिय सहकार्य र साझा जिम्मेवारी अपरिहार्य रहेको कुरामा जोड दिएको थियो।
कार्यक्रमको सहजीकरण Safe Future Project का परियोजना संयोजक श्री मनोज पौडेलले गर्नुभएको थियो भने Radhakrishna Tharu Jana Sewa Kendra (RKJS) का कार्यक्रम अधिकृत श्री राजेन्द्र चौधरीले सहजीकरणमा सहकार्य गर्नुभएको थियो।
यी अन्तरक्रियात्मक कार्यक्रमहरूले विद्यालय तथा सरोकारवालाबीचको समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई थप सुदृढ गर्दै बाल संरक्षण, गुणस्तरीय शिक्षा, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा सुरक्षित र उज्ज्वल भविष्य निर्माणका लागि सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।










