बर्दिया ,३ असोज ।
धान उत्पादनका लागि देशमै परिचित बर्दिया जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन भए पनि पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था भने चिन्ताजनक देखिएको छ। जिल्लामा गरिएको पोषण परीक्षणमा पाँच वर्षमुनिका १४.३२ प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको हो।
कृषि उत्पादनका हिसाबले समृद्ध मानिने बर्दियामा बालबालिकाले आवश्यक र सन्तुलित पोषणयुक्त खाना नपाउनु, खानपानमा विविधता नहुनु तथा गर्भावस्थादेखि नै आमाको स्वास्थ्य र पोषणमा पर्याप्त ध्यान नदिनुलगायतका कारण कुपोषणको समस्या कायमै रहेको स्वास्थ्यकर्मी बताउँछन्। घरमा खाद्यान्नको उपलब्धता भए पनि बालबालिकाको उमेर र आवश्यकताअनुसार पोसिलो खाना खुवाउने अभ्यास कमजोर हुँदा समस्या देखिएको उनीहरूको भनाइ छ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले जिल्लामा बालबालिकाको कुपोषणको अवस्था गम्भीर रहेको बताउनुभयो। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पाँच वर्षमुनिका बालबालिकामा १० देखि १५ प्रतिशतसम्म कुपोषण देखिनुलाई गम्भीर अवस्थाका रूपमा लिइने भएकाले बर्दियामा कुपोषण घटाउन थप प्रभावकारी योजना आवश्यक रहेको उहाँले जनाउनुभयो।
“हाम्रो जिल्लामा कुपोषणको दर १४ प्रतिशतभन्दा माथि छ। त्यसैले कुपोषण घटाउन तत्काल फरक ढङ्गले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ,” गौतमले भन्नुभयो।
स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँच वर्षमुनिका २० हजार ९८५ बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये तीन हजार २६ जना अर्थात् १४.३२ प्रतिशतमा कुपोषण देखिएको हो। तीमध्ये ४१९ जना बालबालिकामा कडा र दुई हजार ६०७ जनामा मध्यम खालको कुपोषण पाइएको छ।
परीक्षण गरिएका बालबालिकामध्ये १७ हजार ९५९ जनाको पोषण अवस्था भने सामान्य रहेको स्वास्थ्य कार्यालयकी सूचना अधिकारी पद्माकुमारी श्रेष्ठले बताउनुभयो। उमेरअनुसार बालबालिकाको तौल र उचाइ मापन गरी पोषण अवस्थाको पहिचान गर्ने गरिएको उहाँले जनाउनुभयो।
स्थानीय तहगत तथ्याङ्क हेर्दा गुलरिया नगरपालिकामा कुपोषित बालबालिकाको दर सबैभन्दा बढी देखिएको छ। गुलरियामा पाँच वर्षमुनिका १८.१ प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ। त्यसपछि ठाकुरबाबा नगरपालिकामा १५.९५, मधुवन नगरपालिकामा १५.४, बारबर्दिया नगरपालिकामा १४.४६ र राजापुर नगरपालिकामा १४.१२ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ।
त्यसैगरी बढैयाताल गाउँपालिकामा १२.६, बाँसगढी नगरपालिकामा ११.२४ र गेरुवा गाउँपालिकामा ११.२९ प्रतिशत बालबालिकामा कुपोषण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहका अनुसार कुपोषणको समस्या बालबालिकाको जन्मपूर्व अवस्थासँग पनि जोडिएको हुन्छ। कुपोषित आमाबाट जन्मिएका बालबालिकामा कुपोषणको जोखिम बढी हुने भएकाले गर्भावस्थादेखि नै आमाको पोषण र स्वास्थ्यमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
“कतिपय बालबालिकाले आवश्यक मात्रामा पोसिलो खाना नपाउँदा कुपोषित हुने गरेका छन्। बालबालिकाको उमेरअनुसार सन्तुलित र विविधतायुक्त खाना खुवाउन परिवारले विशेष ध्यान दिनुपर्छ,” शाहले भन्नुभयो।
कुपोषणको समस्या बर्दियामा नयाँ भने होइन। स्वास्थ्य कार्यालयको तथ्याङ्कले अघिल्ला वर्षमा पनि बालबालिकामा कडा कुपोषणको अवस्था उल्लेख्य रहेको देखाउँछ। आर्थिक वर्ष २०८१/८२ मा ४२९ जना र २०८०/८१ मा २८२ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको थियो।
स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको पोषण सुधारका लागि परिवारको खानपानमा परिवर्तनसँगै नियमित स्वास्थ्य परीक्षण, स्तनपान, पूरक खाना, सरसफाइ र बालबालिकाको नियमित वृद्धि अनुगमनलाई प्राथमिकता दिन आवश्यक छ। विशेषगरी स्थानीयस्तरमै उपलब्ध अन्न, दाल, हरियो सागसब्जी, फलफूल, अण्डा तथा अन्य पोषणयुक्त खाद्य पदार्थको उचित प्रयोग बढाउन सके कुपोषण न्यूनीकरणमा सहयोग पुग्ने उनीहरूको भनाइ छ।
स्वास्थ्य कार्यालयले मध्यम खालको कुपोषण भएका बालबालिकालाई सर्वोत्तम पिठो तथा कडा कुपोषण भएका बालबालिकालाई तत्काल प्रयोग गर्न सकिने उपचारात्मक खाद्य पदार्थ खुवाएर उपचार गर्ने गरेको जनाएको छ। स्वास्थ्यमा जटिलता देखिएका बालबालिकालाई भने थप उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने गरिएको छ।
धान र अन्य खाद्यान्न उत्पादनमा अगाडि रहेको बर्दियामा बालबालिकाको पोषण अवस्था कमजोर देखिनुले खाद्यान्नको उपलब्धता मात्रै पर्याप्त नहुने र त्यसको सही प्रयोग, खानपानको विविधता तथा बालबालिकाको स्याहारमा समेत उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ। कुपोषण न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रसँगै स्थानीय सरकार, परिवार, विद्यालय तथा समुदायको संयुक्त पहल आवश्यक देखिएको छ।









