बाँके ,५ असोज ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय नेपालगञ्जको ३७ औँ वार्षिकोत्सव तथा स्नेह मिलन समारोह सम्पन्न भएको छ।
संस्थाको स्थापना दिवसका अवसरमा आयोजित समारोह संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहमा शिक्षाविद् तथा साहित्यकार जितबहादुर शाह, मंगलप्रसाद माध्यमिक विद्यालयका प्राचार्य सन्ध्या गुप्ता, मुद्रण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवं साहित्यकार मीना ढकाल, मानव अधिकारकर्मी सरस्वती मल्ल तथा संस्थाका केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव ब्रह्माकुमारी कृष्णबहादुर रानाभाटलगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा संस्थाको स्थापनाकालदेखि आबद्ध सदस्य तथा नवआगन्तुक सदस्यहरूको समेत सहभागिता थियो।
कार्यक्रममा स्वागत मन्तव्यसहित कविता वाचन संस्थाका क्षेत्रीय सचिव ब्रह्माकुमारी कृष्णबहादुर रानाभाटले गर्नुभएको थियो भने सञ्चालन क्षेत्रीय उपप्रमुख ब्रह्माकुमारी मुनाले गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै शिक्षाविद् तथा साहित्यकार जितबहादुर शाहले ब्रह्माकुमारीजले स्थापनाकालदेखि नै आध्यात्मिक चेतना तथा सामाजिक सन्देश प्रवाहमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो। उहाँले संस्थाका गतिविधिलाई आगामी दिनमा समाजका हरेक टोल तथा विद्यार्थीमाझ अझ व्यापक रूपमा पुर्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

मंगलप्रसाद माध्यमिक विद्यालयका प्राचार्य सन्ध्या गुप्ताले संस्थाले प्रदान गर्दै आएको आध्यात्मिक तथा नैतिक शिक्षालाई विद्यार्थीमाझ पुर्याउन विद्यालयका तर्फबाट सहकार्य र हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि प्रमोद रिजालले ब्रह्माकुमारीजले गर्दै आएको सामाजिक सेवाको प्रशंसा गर्दै संस्थाको ३७औँ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभयो। उहाँले संस्थाका सामाजिक तथा मानवीय सेवाका गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो।
‘सेतो कपडाप्रतिको समाजको दृष्टिकोण परिवर्तन भएको छ’
समारोहकी अध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले संस्थाको स्थापनाकालदेखि विभिन्न रूपमा सहयोग गर्ने सबै मनकारी व्यक्तित्वप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले संस्थाको सुरुवाती चरणमा विभिन्न चुनौती सामना गर्नुपरेको स्मरण गर्दै त्यसबेला समाजमा सेतो कपडाप्रति नकारात्मक दृष्टिकोण रहेको भए पनि अहिले ब्रह्माकुमारीजको योगदान र गतिविधिलाई समाजले बुझेर सम्मान गर्न थालेको बताउनुभयो।
‘भोलेनाथको कार्यमा निमित्त भएर सेवा गर्दै आएको’ उल्लेख गर्दै उहाँले ईश्वरीय साथ र सहयोगबाट संस्थाले निरन्तर सफलता हासिल गर्दै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म आफ्नो सेवा विस्तार गर्न सफल भएको बताउनुभयो। संस्थाको सामाजिक तथा आध्यात्मिक अभियानमा निरन्तर साथ र सहयोग गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो।
बाढीपीडितका लागि एक करोड ४३ लाखभन्दा बढी सहयोग
समारोहमा ब्रह्माकुमारी दुर्गा दिदीले हालै तिब्बततर्फबाट आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले शोकसभा आयोजना गरेको जानकारी दिनुभयो।
बाढीपीडितका लागि राहत सहयोगस्वरूप नेपालगञ्ज क्षेत्रबाट ४ लाख ३० हजार ६ सय १५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न केन्द्रीय कार्यालयमा पठाइसकिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार ब्रह्माकुमारीज संस्थामार्फत पूर्व क्षेत्रबाट १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ भने पश्चिम क्षेत्रबाट ४२ लाख ७५ हजार ३ सय ४२ रुपैयाँ संकलन भएको छ। पूर्व र पश्चिम क्षेत्रबाट गरी कुल १ करोड ४३ लाख ७५ हजार ३ सय ४२ रुपैयाँ सहयोग पठाइएको उहाँले बताउनुभयो।
समारोहमा विभिन्न विधामा विजयी तथा उत्कृष्ट हुनेहरूलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको थियो।
आध्यात्मिक जागरण, नैतिक शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा संस्थाले गर्दै आएको योगदानलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धतासहित समारोह सम्पन्न भएको आयोजकले जनाएको छ।









