कर्णालीको स्वास्थ्य सेवा सुधारका लागि वार्षिक समीक्षा, आगामी रणनीति तय गरिँदै

  • नमस्ते कर्णाली

  • सुर्खेत ,९ असोज ।

    कर्णाली प्रदेश सरकार मातहतका निकायले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन तथा सम्पादन गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ। बिहीबारदेखि सुरु भएको गोष्ठी तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ।
    कर्णालीका १० वटै जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रम तथा सेवा प्रवाहको समीक्षा गरी आगामी दिनका लागि प्रभावकारी रणनीति तय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा १० जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुखले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका कार्यक्रम, सेवा प्रवाह, उपलब्धि, समस्या तथा चुनौतीबारे प्रस्तुति दिनेछन्।
    गोष्ठीको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको मानव पुँजीलाई स्वस्थ राख्ने विषयमा सरकार र स्वास्थ्य क्षेत्रका निकाय गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो। सीमित स्रोतसाधनका बीच प्रदेश सरकारले कर्णालीको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै उहाँले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
    मुख्यमन्त्री शाहीले दक्ष जनशक्ति तथा आवश्यक पूर्वाधारको अभावका बाबजुद नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो। वार्षिक समीक्षा गोष्ठीबाट प्राप्त निष्कर्ष, सुझाव र अनुभवका आधारमा प्रदेशको स्वास्थ्य क्षेत्रको आगामी रणनीति तथा कार्यक्रम तय गरिने उहाँको भनाइ छ।
    त्यस्तै, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले नीतिगत तह र कार्यान्वयन तहबीचको दूरीका कारण स्वास्थ्य क्षेत्रमा अपेक्षाअनुसार सुधार हुन नसकेको बताउनुभयो। कतिपय अवस्थामा नीतिगत जटिलताका कारण समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै उहाँले प्रदेशसभाबाट वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम कार्यान्वयनमा हुने ढिलाइले नागरिकको अपेक्षाअनुसार परिणाम हासिल गर्न कठिनाइ भइरहेको बताउनुभयो।
    मन्त्री मल्लले स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई कागजमा सीमित नराखी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। नीति निर्माणसँगै त्यसको कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन सके मात्रै नागरिकले स्वास्थ्य सेवाको प्रत्यक्ष लाभ पाउने उहाँको भनाइ थियो।
    स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले पूर्वाधार र दक्ष जनशक्तिको अभावका बीच पनि कर्णालीको स्वास्थ्य सेवा सुधारका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो। कुनै समय सामान्य औषधि ‘सिटामोलसमेत नपाइने प्रदेश’का रूपमा चिनिने कर्णाली अहिले विस्तारै विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाहतर्फ अघि बढिरहेको उहाँले दाबी गर्नुभयो।
    तीन दिनसम्म सञ्चालन हुने समीक्षा गोष्ठीमा जिल्लागत स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयनको अवस्था, उपलब्धि, समस्या तथा चुनौतीबारे छलफल हुनुका साथै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तारका लागि आवश्यक रणनीति तय गरिने जनाइएको छ।

  • ९ आश्विन २०८३, शुक्रबार ०६:५१ प्रकाशित

  • Nabintech