कर्णालीका सडकमा यातायात  सञ्चालन पूणरुपमा रोक

  • नमस्ते कर्णाली

  • सुर्खेत, १० असोज ।

    मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आगामी आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको विशेष मौसमी बुलेटिन जारी गरेपछि कर्णाली प्रदेशमा सञ्जालमा रहेका राजगमार्ग तथा यिनका सहायक मार्गमा यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाईएको छ ।

    भारी वर्षापछि आउन सक्ने बाढी तथा पहिरोबाट मानविय क्षति हुन नदिन यस्तो कदम चालिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार कर्णालीका पहाडी र हिमाली जिल्लामा सञ्चालित सडकहरुमा वर्षाको जोखिम कम नभएसम्मका लागि दवैतर्फी यातायात पूर्णरुपमा बन्द गरिएको जानकारी दिए ।

    उनका अनुसार बिहिबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम सडक सञ्चालनमा रोक लगाइएको हो । कर्णालीमा कोहलपुर–सुर्खेत रत्न राजमार्ग, सुर्खेत जुम्ला कर्णाली राजमार्ग, मदन भण्डारी राजमार्ग, कर्णाली कोरिडोर, पुष्पलाल मध्यपहाडी राजमार्ग, छिन्चु–जाजरकोट–डोल्पा भेरी कोरिडोर तथा यिनका सहाक मार्ग सञ्चालनमा छन् ।

    यी सडक मध्ये कोहलपुर–सुर्खेत खण्डमा सडकको अवस्थाका आधारमा अत्यावश्यक सवारी मात्र सञ्चालन गरिने प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दिए । उनका अनुसार अहिले कर्णालीका १० वटै जिल्लामा वर्षा भइरहे पनि हालसम्म कुनै अप्रिय घटना घटेका छैनन् । ‘वर्षाको जोखिम हेरेर कर्णालीका पहाडी तथा हिमाली जिल्लामा सञ्चाललित सबै सडक सञ्जालहरु अवस्था सामान्य नभएसम्मका लागि सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ,’ राठौरले भने, ‘अहिले १० वटै जिल्लामा सामान्यदेखि मध्ययम वर्षा भइरहेको अवस्था छ । वर्षाका कारण केही नदी तथा खोलाको सतह बढेको भन्ने छ । हालसम्म कुनै अप्रिय घटना भने घटेका छैनन् ।’

    उनले विपद् प्रतिकार्यका लागि ६ हजार प्रहरी जनशक्ति तयारी अवस्थामा छ भने आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाली सेनाको थप जनशक्ति तैनाथ गर्नेगरी योजना बनाइएको बताए । उद्धार र राहतमा आवश्यकता परेको खण्डमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

    प्रदेश सरकारले मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिन अनुसार आगामी आइतवारसम्म हुन सक्ने भारी वर्षापछिको जोखिमबाट सुरक्षित रहन सर्वसाधारणहरुलाई सतर्क र सजग रहन तथा आवश्यक पर्ने पूर्वतयारी अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयहरु र स्थानीय तहहरु मार्फत जानकारी गराउने, आवश्यकता अनुसार विपद् व्यवस्थापन सम्बन्धी कार्यका लागि संघ प्रदेश अन्तर्गतका प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिहरुबीच आवश्यक समन्वय भइरहेको सरकारले जनाएको छ ।

    त्यस्तै, कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण कार्यमञ्चको कार्यसञ्चालन मार्गदर्शन, २०८३ र प्रदेश आपत्कालीन कार्य सञ्चालन कार्यविधि, २०८३ लाई स्वीकृतिका लागि प्रदेश विपद् व्यवस्थापन परिषद् समक्ष गरिएको छ । विपद् व्यवस्थापन तथा सम्भावित विपद् प्रतिकार्यका लागि सबै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

    विपद्को अवस्थामा हुन सक्ने सडक यातायात अवरोधलाई मध्यनजर गरी यातायात सुचारु राख्न आवश्यक तयारी र पहल गर्न सम्बन्धित सडक कार्यालय, प्रदेश अन्तर्गतका पूर्वाधार विकास कार्यालयहरुलाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । विपद्को समयमा अत्यावश्यक सेवा अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम लगायत सेवा प्रदायक संस्थाहरुलाई अनुरोध गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी सुरेन्द्र शाहीले जानकारी दिए ।

    उनका अनुसार विपद् व्यवस्थापन कार्यमा विभिन्न गैर सरकारी तथा सामुदायिक संस्थाहरुको सहभागिता र संलग्नता आवश्यक देखिएको खण्डमा आफ्नो विषयगत ज्ञान समेतका आधारमा परिचालन गर्न सम्बन्धित निकायहरुलाई भनिएको छ । प्रत्येक जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले सम्भावित जोखिमबाट असर पर्न सक्ने स्थानहरुको पहिचान गरी सोको विवरण तथा सूचना सम्बन्धित निकायहरु र सरोकारवालाहरुसँग आदानप्रदान गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले आग्रह गरेको छ ।

  • १० आश्विन २०८३, शनिबार ११:४९ प्रकाशित

  • Nabintech