सुर्खेत, १२ असोज ।
मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमि सामुदायिक वन क्षेत्रमा भएको झडपपछि भाग्नेक्रममा एक जना जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना बेपत्ता भएका छन् ।
गाउँपालिकाले जडिबुटी संकलनका क्रममा झडपपछि वेपत्ताहरुको खोज गरिदिन आइतबार जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेपछि घटना बाहिर आएको हो । उनीहरु २ असोजमा जुडिबुटी संकलन गर्न घरबाट निस्किएका थिए ।
मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीका अनुसार जडिबुटी खोज्न गएका १३ मध्ये १० जना सम्पर्कमा आएका छन् । मुगुको कार्मारोङ र हुम्लाको चंखेली गाउँपालिकाको सिमावर्ती क्षेत्रमा रहेको मिमि सामुदायिक वनमा जडिबुटी संकलन गर्नेक्रममा स्थानीयसँग झडप भएको उनले बताए । झडपपछि भाग्नेक्रममा लेक लागेर एक जनाको मृत्यु भएको बुझिएको प्रजिअ भण्डारीले बताए ।

‘जडीबुटी संकलनका लागि स्थानीय १३ जना वन क्षेत्रमा गएका थिए । उनीहरू चंखेली गाउँपालिका–२ को वन क्षेत्र हुँदै कार्मारोङ गाउँपालिका–७ को मिमी वन क्षेत्रतर्फ पुगेको बुझिएको छ । उक्त क्षेत्रमा दुई पक्षका स्थानीय बासिन्दाबीच वन क्षेत्रको सीमासम्बन्धी विवादसमेत रहेको जनाइएको छ,’ प्रजिअ भण्डारीले भने, ‘जडीबुटी संकलनका क्रममा दुई पक्षका स्थानीयहरू सोही क्षेत्रमा पुगेपछि उनीहरूबीच विवाद भएको र त्यसपछि भागेर फर्किने क्रममा एक जनाको लेक लागेर मृत्यु भएको भन्ने जानकारी आएको छ ।’
घटनापछि सुरुमा नौ जना सम्पर्कविहीन रहेको जानकारी आएको थियोे । तर, खोजीका क्रममा सात जना सम्पर्कमा आइसकेको पनि उनले बताए । दुई जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय हुम्लासँग समेत समन्वय भइरहेको उनले बताए ।
मुगु र हुम्ला दुवैतर्फबाट खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए । मृतकको शव घटनास्थलबाट तल झारिएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उनले बताए । घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले शव जिल्ला अस्पतालसम्म ल्याउन लागिएको उनको भनाई छ ।
उनका अनुसार मुगुम कार्मारोङ गाउँपालिका–९ का २२ वर्षीय गणेशबहादुर बुढाको मृत्यु भएको जनाइएको छ । त्यस्तै, सोही ठाउँका २८ वर्षीय कलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजङ बडुवाल, ३५ वर्षीय जयबहादुर बडुवाल २६ वर्षीय अंख रोकाया, २६ वर्षीय जयबहादुर रोकाया, ४२ वर्षीय विरबहादुर ऐडी २३ वर्षीय प्रेमबहादुर रोकाया, १९ वर्षीय पवन रोकाया, ३६ वर्षीय बाच्या बुढा, ३५ वर्षीय प्रिम बुढा र १६ वर्षीय सर्जन बुढा जटिबुढी संकलनका लागि वन पसेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रजिअ भण्डारीले जानकारी दिए ।









