सुर्खेत ,१२ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै कर्णाली प्रदेशमा पार्टीभित्रको शक्ति समीकरण थप रोचक बन्दै गएको छ । प्रदेशका अधिकांश वडा र पालिका तहको अधिवेशन सम्पन्न भएसँगै अहिले १० वटै जिल्लामा क्षेत्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको छ ।
कर्णालीका ७९ स्थानीय तह र ७ सय १८ वडामध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाहेक अधिकांश स्थानमा वडा तथा पालिका अधिवेशन सम्पन्न भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ । प्रदेश निर्वाचन संयोजक उत्तम आचार्यका अनुसार आगामी १३ गतेसम्म कर्णालीका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भइसक्नेछन् ।
कर्णालीमा हालसम्म सम्पन्न अधिवेशनको प्रारम्भिक परिणामले निवर्तमान उपसभापति पूर्णबहादुर खड्का निकट नेताहरूको प्रभाव देखाएको उनी पक्षीय नेताहरूको दाबी छ । तर, संगठनमा प्रभाव राख्ने खड्का स्वयं भने यसपटकको महाधिवेशन प्रक्रियामा सहभागी नहुने अवस्थामा छन् । खड्काको गृहप्रदेशसमेत रहेकाले उनी सहभागी नहुने १५औँ महाधिवेशनलाई कर्णालीमा विशेष चासोका साथ हेरिएको छ ।
खड्का नेपाली कांग्रेसको वर्तमान नेतृत्वको वैधानिकतासम्बन्धी विषयलाई लिएर सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको आधिकारिकताविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि मुद्दा विचाराधीन छ । यही कानुनी अवस्थाका कारण खड्काले आफू तत्काल महाधिवेशनमा सहभागी हुन नैतिक रूपमा नमिल्ने बताउँदै आएका छन् ।
तर, खड्काले आफू महाधिवेशनमा सहभागी नहुने बताए पनि उनका निकट अधिकांश नेता भने महाधिवेशन प्रक्रियामा सहभागी भएका छन् । खड्काले सार्वजनिक रूपमा ‘रूख र चार तारा जहाँ छ, म त्यहीँ छु’ भन्ने धारणा राख्दै आएका छन् । विशेष महाधिवेशनबाट बनेको नेतृत्वमा तत्कालीन पदाधिकारी तथा सदस्यहरूको समायोजन र क्रियाशील सदस्यतासहितका विषयमा सहमति भएपछि खड्का पक्षीय नेताहरू महाधिवेशन प्रक्रियामा सहभागी हुने अवस्थामा पुगेका हुन् ।
यसको प्रभाव कर्णालीमा भइरहेको प्रतिनिधि छनोटमा देखिएको छ । खड्का पक्षीय नेताहरूको दाबीअनुसार वडा र पालिका तहमा भएको निर्वाचनबाट उनीनिकट अधिकांश नेता महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका छन् । यसले कर्णालीमा खड्काको संगठनात्मक प्रभाव अझै कायम रहेको उनी पक्षीय नेताहरूको दाबी छ ।
तर, खड्का स्वयं महाधिवेशनमा सहभागी नहुने अवस्थामा उनका निकट प्रतिनिधिहरूले कुन राजनीतिक धारलाई समर्थन गर्छन् भन्ने विषय भने खुलिसकेको छैन । यही कारण कर्णालीबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको राजनीतिक समीकरणलाई आगामी महाधिवेशनमा महत्वपूर्ण मानिएको छ ।
देउवा पक्षको छुट्टै तयारी
यसैबीच नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियालाई स्वीकार नगरी छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ ।
देउवा पक्षले विशेष महाधिवेशन र त्यसबाट आएको नयाँ नेतृत्वलाई अवैधानिक दाबी गर्दै छुट्टै महाधिवेशन गर्ने तयारी गरेको हो । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरेर देउवा पक्षले समानान्तर संगठनात्मक गतिविधि अघि बढाएको छ ।
देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका अघि सारेको छ । त्यसका लागि कर्णालीका रुकुम पश्चिमबाहेक नौ जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत परिचालन गरिएको छ ।
सल्यानमा दीपक चन्द, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा दीपेन्द्र हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बखतबहादुर शाही, कालीकोटमा दमनबहादुर शाही, जाजरकोटमा ज्ञानबहादुर शाही, दैलेखमा एकेन्द्रबहादुर पन्त र सुर्खेतमा महेन्द्र शाहीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै देउवा पक्षले कर्णालीका आठ जिल्लामा जिल्ला संयोजकसमेत तोकेको छ । डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालीकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा र सुर्खेतमा ललित भट्टराईलाई जिम्मेवारी दिइएको जनाइएको छ । रुकुम पश्चिम र सल्यानमा भने संयोजक तोक्न बाँकी रहेको बताइएको छ ।
यसरी कर्णालीमा कांग्रेसको नियमित महाधिवेशन प्रक्रिया एकातिर अघि बढिरहेको छ भने देउवा पक्षले अर्कोतर्फ छुट्टै संगठनात्मक संरचना निर्माण गरिरहेको छ ।
खड्का स्वयं बाहिर, समर्थक भने मैदानमा
कांग्रेसभित्रको कानुनी र राजनीतिक विवादका कारण कर्णालीको शक्ति समीकरण थप जटिल बनेको छ । एकातर्फ गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी समूह छ भने अर्कोतर्फ देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ । त्यसमाथि खड्कासँग राजनीतिक रूपमा निकट रहेका नेताहरू भने खड्का स्वयं सहभागी नभए पनि महाधिवेशन प्रतिनिधि बन्ने प्रक्रियामा सक्रिय छन् ।
सर्वोच्च अदालतले यसअघि महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । पुनरावलोकनको विषय विचाराधीन रहेकै अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढेकाले खड्काले कानुनी प्रक्रिया छिटो टुंग्याउन आग्रह गर्दै आएका छन् । यही अवस्थाका कारण उनी स्वयं महाधिवेशन प्रक्रियाबाट बाहिर रहे पनि आफ्ना निकट नेताहरूलाई सहभागी हुन ढाडस दिइरहेको कांग्रेस नेताहरू बताउँछन् ।
कर्णालीमा अहिले देखिएको अवस्थालाई कतिपय कांग्रेस नेताहरूले तीनवटा राजनीतिक धारका रूपमा व्याख्या गरेका छन् । पहिलो, गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी समूह, दोस्रो, देउवा नेतृत्वमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको समूह र तेस्रो, खड्कासँग निकट रहे पनि खड्का स्वयं अदालतमा मुद्दा विचाराधीन रहेकाले उनी सहभागी नभएको अवस्थामा महाधिवेशन प्रक्रियामा सहभागी समूह ।
प्रतिनिधि छनोटपछि खुल्ने शक्ति समीकरण
कर्णालीबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिले नै प्रदेशमा कांग्रेसको वास्तविक शक्ति समीकरणबारे थप स्पष्ट चित्र दिनेछन् । अहिलेको प्रारम्भिक परिणामले खड्का पक्षीय नेताहरूको प्रभाव देखाएको दाबी गरिए पनि त्यसलाई खड्काको व्यक्तिगत राजनीतिक निर्णयसँग जोडेर तत्काल निष्कर्ष निकाल्न हतार हुने कांग्रेस नेताहरू बताउँछन् ।
एक महाधिवेशन प्रतिनिधि उम्मेदवारका अनुसार कर्णालीबाट खड्का र गगन थापा पक्षका प्रतिनिधिको संख्या नजिक–नजिक हुन सक्ने अवस्था छ । उनका अनुसार दैलेख, कालीकोट, जुम्ला, सल्यान र जाजरकोटलगायत जिल्लामा गगन पक्षीय प्रतिनिधिको उपस्थिति बढ्न सक्ने देखिएको छ ।
उनले कर्णालीमा खड्कासँगै जीवनबहादुर शाहीको समेत प्रभाव रहेकाले खड्का निकट समूहका प्रतिनिधिको संख्या उल्लेख्य हुन सक्ने दाबी गरे । उनका अनुसार खड्का स्वयं महाधिवेशनमा सहभागी नहुने बताइरहेका छन् भने कार्यकर्तालाई भने महाधिवेशन प्रक्रियामा सहभागी हुन प्रोत्साहित गरिरहेका छन् ।
ती नेताले खड्काको भूमिकामाथि प्रश्न उठाउँदै आफू महाधिवेशनमा सहभागी नहुने बताउने तर कार्यकर्तालाई भने ‘रूख र चार तारामै छु’ भन्ने अभिव्यक्ति दिनुले दोहोरो राजनीतिक सन्देश गएको दाबी गरे ।
अब १० वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएपछि कर्णाली कांग्रेसको शक्ति समीकरण थप स्पष्ट हुनेछ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भने विवादका कारण अधिवेशन हुन बाँकी छ । बाँकी जिल्लामा प्रक्रिया अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।
यसरी हेर्दा खड्का अदालतको कानुनी लडाइँमा, उनका निकट नेता महाधिवेशनको मैदानमा र देउवा पक्ष छुट्टै महाधिवेशनको तयारीमा रहेको अवस्था छ । कर्णाली कांग्रेसको १५औँ महाधिवेशनमा यी फरक–फरक राजनीतिक धारबीचको समीकरण कसरी विकसित हुन्छ भन्ने विषय अब निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको संख्या र उनीहरूको आगामी राजनीतिक भूमिकाले निर्धारण गर्नेछ ।









