बाँके ,२३असोज ।
बाँके जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै गए पनि अदालतले छिटोछरितो र गुणस्तरीय न्याय सम्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमका अनुसार आफूले जिम्मेवारी सम्हाल्दा अदालतमा ४ हजार ३ सय १२ थान मुद्दा थिए। मुद्दाको संख्या बढेर ५ हजार ४ सय ९१ पुगे पनि पछिल्लो एक महिनामा मात्रै १ हजार ३ सय थान मुद्दा फछ्र्योट गरिएको उहाँले बताउनुभयो।
पीडितले न्याय पाउने अधिकार र प्रतिवादीको आधारभूत मानव अधिकारलाई समान रूपमा ध्यान दिएर न्याय सम्पादन भइरहेको गौतमले बताउनुभयो। सेवाग्राहीले अदालतबाट न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनु भयो।
बाँके जिल्ला बार एसोसिएसनले सरुवा भएर आएका न्यायाधीशहरूको स्वागतमा आयोजना गरेको कार्यक्रममा गौतमले न्याय सम्पादनमा निर्भीकता र गुणस्तर कायम राख्दै अदालतप्रतिको जनविश्वास बढाउने गरी काम गर्ने बताउनुभयो।‘पछिल्लो एक महिनामा १ हजार ३ सय थान मुद्दा फछ्र्योट गरेका छौँ,’ उहाँले भन्नुभयो ‘न्यायमा सहज पहुँच र छिटोछरितो न्याय सम्पादन हाम्रो मुख्य प्राथमिकता हो।’
मानव अधिकारकर्मी तथा अधिवक्ता वसन्त गौतमले न्यायका लागि अदालत पुग्ने नागरिकले सहज र समयमै न्याय पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो। अदालतको सेवा प्रभावकारी बनाउन गुणस्तरीय न्यायसँगै मुद्दा फछ्र्योटको गति पनि बढाउनुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा बाँके जिल्ला अदालतमा सरुवा भएर आएका न्यायाधीशहरू विष्णुप्रसाद गौतम, शिललाल पाण्डेय, श्यामबिहारी मौर्य, विष्णुप्रसाद रेग्मी, जीवनकुमार भण्डारी, नारायण सापकोटा र यामबहादुर बानियाँ तथा एक वर्षदेखि कार्यरत न्यायाधीश इन्दिरा शर्मालाई स्वागत गरिएको थियो।
नेपाल बारका पूर्वउपाध्यक्ष प्रह्लादबहादुर कार्कीले न्याय सम्पादन प्रभावकारी बनाउन बार र बेन्चबीचको सम्बन्ध र समन्वय महत्वपूर्ण हुने बताउनुभयो।
नेपालगन्ज उच्च बारका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ताले न्यायको खोजीमा अदालत प्रवेश गर्ने नागरिक अन्यायमा पर्न नहुने बताउनुभयो न्यायिक प्रक्रिया थप सरल र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।वरिष्ठ अधिवक्ता श्यामकुमार गौतम र अधिवक्ता भोलासिंह हमालले बार र बेन्च एकअर्काका परिपूरक भएकाले आपसी सहकार्यबाट मात्रै प्रभावकारी न्याय सम्पादन सम्भव हुने बताउनुभयो
बाँके जिल्ला बार एसोसिएसनका अध्यक्ष अधिवक्ता पुनम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जयप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी न्यायाधीशहरूले न्यायिक निष्ठा र मर्यादा कायम राख्दै पदीय उत्तरदायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।









