डोल्पा कारागारबाट फरार  दुई कैदी रुकुम पश्चिममा पक्राउ

  • नमस्ते कर्णाली

  • सुर्खेत, १८ कार्तिक ।

    डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरबाट पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार आज बिहान करिब साढे १० बजे  उनीहरू पक्राउ परेका हुन् । 

    पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन् । दुवै जना जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।

    उनीहरू १४ कार्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट भागेका आठ जना कैदीबन्दीमध्येका रहेको राठौरले जानकारी दिए । फरार कैदीबन्दीको खोजीका लागि चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको नेतृत्वमा पाँच सदस्यीय टोली खटिएको थियो ।

    टोलीले खोलीबगरबाट आठबिसकोट–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्दा दुई जना भाग्न खोजेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा डोल्पा कारागारबाट फरार कैदी भएको पहिचान खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवै जनालाई प्रहरी चौकी गोतामकोटमा राखिएको छ ।

  • १९ कार्तिक २०८३, बुधबार ०७:२८ प्रकाशित

  • Nabintech