बाँके २४, कार्तिक ।
तिहार तथा दीपावलीको समयमा हुन सक्ने आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण र सम्भावित दुर्घटनामा तत्काल प्रतिकार्यलाई प्रभावकारी बनाउन बाँकेको कोहलपुर नगरपालिकाले प्रहरी बिटहरूलाई आगलागी नियन्त्रण उपकरण (फायर एक्सटिङ्गुइसर) उपलब्ध गराएको छ ।
तिहारमा विद्युत् खपत बढ्नुका साथै दियो, बत्ती तथा पटाकाको प्रयोग हुने भएकाले आगलागीको जोखिमसमेत बढ्ने गरेको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित आगलागी तथा अन्य विपद्का घटनाबाट जनधनको क्षति हुन नदिन नगरपालिकाले इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत नगर क्षेत्रका प्रहरी बिटहरूलाई आगलागी नियन्त्रण उपकरण उपलब्ध गराएको हो ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन नगरपालिकाले आवश्यक पूर्वतयारी तथा सावधानीका उपाय अपनाएको बताउनुभयो । उहाँले तिहार खुसी र उल्लासको पर्व भए पनि सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सबै नगरवासीलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
नगरप्रमुख आचार्यले विद्युत् प्रयोग गर्दा सावधानी अपनाउन, दियो तथा मैनबत्ती सुरक्षित स्थानमा राख्न र पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गर्नुभयो । सम्भावित आगलागीका घटना भए तत्काल नियन्त्रणमा लिन सकियोस् भन्ने उद्देश्यले प्रहरी बिटहरूमा आगलागी नियन्त्रण उपकरणको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
तिहारका बेला घर, पसल तथा व्यावसायिक प्रतिष्ठानमा झिलिमिली बत्ती बाल्ने, विद्युत् उपकरणको प्रयोग गर्ने र दियो प्रज्वलन गर्ने क्रम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक रहेको नगरपालिकाले जनाएको छ । विद्युत्का तार तथा उपकरणको अवस्था जाँच नगरी प्रयोग नगर्न, बत्ती बालेर लामो समय घरबाहिर नजान र आगोका स्रोत बालबालिकाको पहुँचबाट टाढा राख्नसमेत आग्रह गरिएको छ ।
त्यसैगरी पटका तथा आतसबाजीले आगलागी, चोटपटक र ध्वनि प्रदूषणको जोखिम बढाउने भएकाले यसको प्रयोगबाट टाढा रहन नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।
आगलागी वा अन्य आपत्कालीन घटना भए तत्काल इलाका प्रहरी कार्यालय कोहलपुरको ९८५८०९०२१२ र नगर प्रहरी कार्यालय कोहलपुरको ९८५८०१४१११ नम्बरमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले सुरक्षा र सावधानीलाई प्राथमिकता दिँदै तिहारलाई हर्षोल्लास, उमङ्ग र खुसीका साथ मनाउन सम्पूर्ण नगरवासीमा शुभदीपावली तथा तिहारको शुभकामनासमेत व्यक्त गरेको छ ।









