सरकारी खरिद कोटा घटेपछि किसानलाई सहकारीको भर, साकारले १० हजार क्विन्टल धान किन्ने

  • नमस्ते कर्णाली

  • बाँके ,२९ कार्तिक ।
    सरकारले धान खरिदको कोटा आधा घटाएर निर्धारण गरेपछि बाँकेमा सरकारीस्तरबाट धान खरिद प्रक्रिया सुरु हुन नसकिरहेका बेला जिल्लाको एक सहकारीले किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न थालेको छ । राप्तीसोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले गाउँमै धान खरिद सुरु गरेपछि स्थानीय किसानलाई केही राहत मिलेको छ ।

    सहकारीले यस वर्ष किसानले उत्पादन गरेको विभिन्न जातका धान उचित मूल्यमा खरिद गर्ने गरी अभियान सञ्चालन गरेको हो । स्थानीय किसानलाई उत्पादनको उचित मूल्य उपलब्ध गराउने र व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धान खरिद सुरु गरिएको सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले बताउनुभयो ।

    “स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाएर खरिद सुरु गरेका हौँ,” प्रबन्धक वलीले भन्नुभयो, “किसानको मेहनतलाई सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ ।”

    सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २०० रुपैयाँ, राधा–४ मोटो धान दुई हजार ८५० रुपैयाँ र हाइब्रिड धान दुई हजार ७५० रुपैयाँका दरले खरिद गरिरहेको जनाएको छ । धान बिक्री गर्न इच्छुक किसानले आफ्नो उत्पादन सहकारीको गोदाम वा संकलन केन्द्रमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

    गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई उत्पादनको बजारीकरण गर्न सहज हुने र बिचौलियाको निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट किसानको आर्थिक अवस्थामा समेत सुधार आउने विश्वास सहकारीले लिएको छ ।

    राप्तीसोनारी–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य छन् । किसानबाट खरिद गरिएको धान भण्डारण गर्न राप्तीसोनारी–५ बिनौनास्थित गोदाममा आवश्यक व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष हुमाशंकर वलीले जानकारी दिनुभयो ।

    सहकारीले धान खरिदसँगै बीउ उत्पादनमा पनि किसानलाई प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको बीउ धानसमेत सहकारीले खरिद गर्ने गरेको अध्यक्ष वलीले बताउनुभयो ।

    किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यसै वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ समेत सञ्चालनमा ल्याएको छ । मिल सञ्चालनमा आएपछि राप्तीसोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी–पिसानीको सुविधा लिन सहज भएको छ ।

    स्थानीयस्तरमै धान खरिद, प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न थप सहयोग पुग्ने अध्यक्ष वलीको विश्वास छ ।

    यस वर्ष सरकारले बाँकेमा धान खरिदका लागि निर्धारण गरेको कोटा आधा घटाएर १० हजार क्विन्टलमा सीमित गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद कोटा घटाएपछि किसानले उत्पादन गरेको धान बिक्री गर्न समस्या भइरहेको किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताउनुभयो ।

    उहाँका अनुसार सरकारी खरिद कोटा सीमित हुँदा धेरै किसानले आफ्नो उत्पादन बिक्री गर्न बजार खोज्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सहकारीले गाउँमै धान खरिद सुरु गर्नु किसानका लागि राहतको विषय भएको उहाँले बताउनुभयो ।

    सरकारी खरिद कोटा बढाएर तत्काल धान खरिद प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै किसान महासंघ बाँकेले अन्यथा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

    सरकारी खरिद प्रणाली प्रभावकारी नहुँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने विषयमा समस्या भोगिरहेका बेला सहकारीको खरिद अभियानले केही राहत दिए पनि जिल्लामा उत्पादित धानको समग्र बजारीकरणका लागि सरकारी खरिद कोटा वृद्धि र समयमै खरिद प्रक्रिया सुरु गर्नु आवश्यक देखिएको छ ।

  • ३० कार्तिक २०८३, आईतवार ०९:१० प्रकाशित

  • Nabintech