१३, असार २०८२
बाँके। लुम्बिनी प्रदेशमा पहिलो पटक समुदायस्तरमा विपद् व्यवस्थापनमा सक्रिय सहभागिता जनाउन सक्ने विपद् स्वयंसेवक बाँकेमा तयार पारिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जले २५ जना युवालाई विशेष तालिम दिएर विपद् स्वयंसेवकको पहिलो टोली तयार पारेको हो।
राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका युवालाई लक्षित गरी मनसुनजन्य विपद् (बाढी, पहिरो, डुबान आदि) को जोखिमलाई ध्यानमा राखी समुदायमा तत्काल उद्धार, राहत तथा प्रारम्भिक उपचारमा संलग्न हुने उद्देश्यले १८ कार्यदिनको तालिम प्रदान गरिएको हो।
तालिममा सहभागीहरूलाई विपद् व्यवस्थापन प्रणाली, मेडिकल फर्स्ट रेस्पोन्डर (घाइतेको जीवनरक्षाका लागि गरिने प्रारम्भिक उपचार), अग्निनियन्त्रण, डोरीद्वारा उद्धार, वन डढेलो नियन्त्रण, सडक दुर्घटनामा उद्धार, र भूकम्पजस्ता विपदमा कसरी काम गर्ने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण दिइएको प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वर डिसीका अनुसार, यो तालिम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण द्वारा तय गरिएको पाठ्यक्रममा आधारित रहेको छ।
गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारीको भौगोलिक अवस्था र जोखिमलाई मध्यनजर गर्दै अझ बढी विपद् स्वयंसेवक उत्पादनको आवश्यकता औँल्याउँदै सशस्त्र प्रहरी बलको यो पहलप्रति धन्यवाद व्यक्त गर्नुभयो। अध्यक्ष पौडेलले तयार पारिएका स्वयंसेवकहरूको क्षमता अभिवृद्धि र दीर्घकालीन प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो।
यो तालिम राप्तीसोनारी गाउँपालिकाको समन्वय, सशस्त्र प्रहरी बलको आयोजना, तथा कारितास नेपाल र बी-ग्रुपको सहजीकरणमा सम्पन्न भएको हो।
सशस्त्र प्रहरी बल नेपालले लुम्बिनी प्रदेशमा ५०० जना समुदाय विपद् स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्ने लक्ष्य लिएको छ। देशभर आगामी आर्थिक वर्षभित्र ३,६७५ जना विपद स्वयंसेवक तथा सूचक तयार पारिनेछ, जसअनुसार प्रत्येक वडाबाट २५ जना युवालाई प्रशिक्षित गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।