कर्णाली करिडोरलाई भारत–चीन व्यापार मार्गका रूपमा विकास गरिने : प्रधानमन्त्री ओली

  • नमस्ते कर्णाली

  • २३, असार २०८२

    हुम्ला। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई दुई छिमेकी मुलुक चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा विकास गरिने बताएका छन्।

    हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा आयोजित एक समारोहमा बेलिब्रिज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई द्रुतगतिमा दुई लेनको बनाइ कालोपत्रे गर्दै अघि बढाइने घोषणा गरे।

    प्रधानमन्त्री ओलीले कर्णाली करिडोर कर्णाली तथा हुम्लावासीको मात्र नभई सम्पूर्ण राष्ट्रको समृद्धिसँग जोडिएको योजना भएको उल्लेख गर्दै, “हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुको अर्थ मुलुकलाई समृद्धिको दिशामा लैजानु हो,” भन्दै पक्की पुल निर्माणलाई पनि छिट्टै अघि बढाइने जानकारी दिए।

    उहाँले हुम्लाको सिमकोटलाई औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकोमा खुसी व्यक्त गर्दै, छिमेकी मुलुक चीनसँगको हिल्सा नाकामा व्यापार विस्तारका लागि क्वारेन्टाइन केन्द्रको निर्माण चाँडै सुरु हुने प्रतिबद्धता जनाए।

    २६ वर्षपछि सडक सञ्जालमा सिमकोट
    २६ वर्षअघि सुरु भएको कर्णाली करिडोर निर्माणको यात्रा हुम्ला सदरमुकाम सिमकोटसम्म पुगेको छ। नेपाली सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान सुरु गरेको थियो। असार १० गते निर्माण सम्पन्न गरिएको उक्त बेलिब्रिजको सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन गरे।

    प्रधानमन्त्रीसँग उच्चस्तरीय टोली
    प्रधानमन्त्री ओलीसँग रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायतका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए।

    अन्तरदेशीय सम्पर्क सञ्जाल
    सरकारद्वारा राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको कर्णाली करिडोरले नेपाललाई उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्नेछ। चुवाखोलामा सम्पन्न बेलिब्रिजले कर्णालीलाई अन्तरदेशीय सडक सञ्जालसँग सिधा जोड्ने आधार तयार पारेको छ।

     

  • २३ असार २०८२, सोमबार ०९:०५ प्रकाशित

  • Nabintech