बाँके, ६ असोज ।
स्तन क्यान्सर पहिचान भएपछि निराश हुनुभएका नेपालञ्ज उपमहानगर पालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचार भएपछि अहिले सामान्य जीवनयापन गरिरहेका छन् ।
दुई वर्ष अघि शल्यक्रिया गर्नुभएका रानाले नियमित रुपमा किमोथेरापी र भित्री सेकाई (ब्रेकीथेरापी) गरेपश्चात अहिले सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सर जस्तो प्राणघातक रोगको घरनजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उनलाई ठूलो राहत मिलेको छ ।
“चितवन वा काठमाडौँ जानुपरेको भए धेरै दुःख र आर्थिक नोक्सानी हुने थियो, यहाँ घरबाटै आउने जाने गरेर सजिलैसँग उपचार पाइयो”, रानाले भने, “यो अस्पताल सञ्चालनले मजस्ता हजारौँ नागरिकलाई उपचारमा सजिलो भएको छ ।”
अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार, नयाँ प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीमार्फत क्यान्सरका बिरामीलाई चाहिने आवश्यक सबैखाले उपचार खजुरामै सम्भव भएपछि पश्चिम नेपालका जनताको समय र पैसाको ठूलो बचत भएको छ । यसले सर्वसाधारणलाई आर्थिक र मानसिक दुवै हिसाबले ठूलो राहत मिलेको छ ।
अस्पतालले क्यान्सरसम्बन्धी अत्याधुनिक विशेषज्ञ सेवा निरन्तर विस्तार गरेसँगै यहाँ बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । पहिले–पहिले क्यान्सर उपचारका लागि काठमाडौँ वा चितवन धाउनुपर्ने बाध्यतामा रहेका पश्चिम नेपालका क्यान्सर पीडितका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आशा र भरोसाको केन्द्र बन्दै गएको उनको भनाई छ ।
अस्पतालमा हाल अत्याधुनिक उपकरणसहितका आइसीयु, इमरजेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्राकीथेरापी, सीटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे तथा रेडियोथेरापी जस्ता महत्वपूर्ण सेवाहरू उपलब्ध रहेको छ ।
ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको दायरा फराकिलो पारिएपछि यहाँ आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । प्राविधिक समस्याका कारण केही समय प्रभावित बनेको रेडियोथेरापी सेवा पुनःसुरु भएको सूचना अधिकारी गुप्ताले बताए ।
पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई लक्षित गरी बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालित यो अस्पताल सरकारी क्षेत्रबाट सञ्चालित पश्चिम नेपालकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा स्थापित भइरहेको अस्पतालका कन्सल्टेन्ट क्लिनिकल अनकोलोजिस्ट डा मुकेश यादवले जानकारी दिए ।
अस्पतालमा गम्भीर बिरामीका लागि अत्याधुनिक सघन उपचार कक्ष (आइसीयु), निरन्तर निगरानी र भेन्टिलेटर सुविधा उपलब्ध छ । आकस्मिक बिरामीका लागि २४ सै घण्टा इमरजेन्सी, डे केयर, शल्यक्रिया, रक्तसञ्चार, इसीजी तथा इको सेवा सञ्चालनमा छन् । २४ सै घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे र एम्बुलेन्स सेवा उपलब्ध गराएर अस्पतालले बिरामीलाई एकीकृत सेवा प्रदान गर्दै आएको अस्पतालका डा यादवले बताए ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना र विकासको इतिहास प्रेरणादायी छ । २०६२ मङ्सिर २७ गते प्रखर परोपकार मिशन नेपालको स्थापना भएपछि २०६४ वैशाख १७ गते महामण्डलेश्वर प्रखर महाराजबाट अस्पताल भवनको शिलान्यास भएको थियो । सुरुमा स्थानीयस्तरको पहलमा ‘नेपाल क्यान्सर अस्पताल’ को रूपमा अघि बढाइएको यस अस्पताललाई २०७३ फागुन १५ गते गठन आदेशमार्फत सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामाकरण गरिएको हो ।
२०७४ असार ११ गते तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट बहिरङ्ग (ओपीडी) सेवाको उद्घाटन भएसँगै अस्पतालको औपचारिक स्वास्थ्य सेवा सुरु भएको थियो । पछि, २०७७ मङ्सिर ५ गतेदेखि अस्पतालले आफ्नै अपरेसन थिएटरबाट शल्यक्रिया सेवासमेत दिन थालेको अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
अस्पतालले सेवा विस्तार गरेसँगै अब पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको कक्षपतिले बताए ।
नयाँ प्रविधिको प्रयोग गरेर विशेषज्ञ चिकित्सकले क्यान्सरका बिरामीलाई आवश्यक सबैखाले सेवा खजुरामै पाएपछि पश्चिम नेपालका जनताको समय, पैसा बचेकाले हरेक किसिमबाट लाभदायक भएको कक्षपतिले उल्लेख गरे ।
उनले सरकारी उपेक्षाका कारण हालसम्म अस्पतालमा स्थायी दरवन्दी कायम नगरेको उल्लेख गर्दै अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताए । अस्पतालमा जनशक्तिको लागि स्थायी दरबन्दी र पूर्वाधार विकासको लागि सरकारले ध्यान दिन सके अझ सेवा प्रभावकारी र सहज हुने उनको भनाई छ ।









