३१, असार २०८२
बाँके । सार्वजनिक प्रशारण सेवा नेपाल टेलिभिजन (एनटिभी) कोहलपुरले आयोजना गरेको दुईदिने मौसम तथा बिपद संचार कार्यशाला कोहलपुरमा सम्पन्न भएको छ। कार्यशालामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेपाल टेलिभिजन र रेडियो नेपालमा कार्यरत संवाददाताहरूको सहभागिता थियो।
कार्यक्रममा बिपदको पूर्व तयारी, बिपदको समयमा सूचना सम्प्रेषण र बिपदपछिको पुनःस्थापनामा संचारकर्मीको भूमिकाबारे विशेष जोड दिइएको थियो। कार्यशालाको प्रमुख उद्देश्य सबै प्रकारका बिपदले निम्त्याउने जोखिम, पूर्वानुमान, विश्लेषण, सचेतना र सूचना प्रवाहलाई प्रभावकारी बनाउँदै प्रतिकार्यलाई मजबुत बनाउनु रहेको आयोजकले जनाएका छन्।
कार्यशालामा एनटिभी कोहलपुरका प्रमुख निराजन खनालले पानीजन्य बिपदसँग सम्बन्धित प्रयोगात्मक प्रशिक्षणसमेत दिनुभयो। उहाँले भन्नुभयो, “बिपदको समयमा संचारकर्मीको भूमिका अत्यन्त संवेदनशील हुन्छ। सुरक्षा सतर्कता अपनाउँदै तथ्यमा आधारित, स्पष्ट र छिटो सूचना सम्प्रेषण जरुरी हुन्छ।” साथै उहाँले बिपदमा आधारित रिपोर्टिङ गर्दा अफवाहबाट बच्न र विश्वसनीय स्रोतलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख रामप्रसाद अवस्थीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम र जल मापन केन्द्रहरूको अवस्थाबारे जानकारी दिँदै आगामी दिनमा अझै धेरै केन्द्र थपिने बताउनुभयो। उहाँका अनुसार,
लुम्बिनी प्रदेशमा हाल ८२ वटा मौसम मापन केन्द्र र १८ वटा जल मापन केन्द्र छन्,
कर्णालीमा ६९ वटा मौसम मापन केन्द्र र २४ वटा जल मापन केन्द्र छन् भने ३३ स्थानीय तहमा यस्ता केन्द्र छैनन्, सुदूरपश्चिम प्रदेशमा ७४ मौसम मापन केन्द्र र ४६ जल मापन केन्द्र छन् तर ३९ स्थानीय तह अझै सेवाविहीन छन्।
कार्यशालामा सहभागी बीबीसी मिडिया एक्सनका प्रतिनिधि भुवन तिम्सिनाले भन्नुभयो “सञ्चारले बिपद व्यवस्थापनमा चेतना, सशक्तिकरण र समुदायलाई प्रतिकार्यमा सहयोग पुर्याउने माध्यमको रूपमा कार्य गर्नुपर्छ।”
यस्तै प्रशिक्षक मेघराज रसाइलीले बिपद सूचना व्यवस्थापन र सूचनाको सामाजिक असरमाथि प्रकाश पार्दै भन्नुभयो, “सूचना केवल समाचार होइन, बिपदको बेलामा यो जनताको ज्यान जोगाउने हतियार पनि हो। त्यसैले सूचनाको गति, शुद्धता र पहुँच अत्यावश्यक हुन्छ।”
कार्यक्रममा विभिन्न प्रस्तुतिकरणमार्फत बिपद सञ्जाल, जोखिम विश्लेषण, संचार रणनीति, तथ्यमा आधारित रिपोर्टिङ विधि, तथा स्थानीय तह र सरकारी संयन्त्रसँगको समन्वयका विषयमा छलफल गरिएको थियो।
कार्यशालामा सहभागी संचारकर्मीहरूले बिपदका सबै चरणमा (पूर्व, वर्तमान र पछिको अवस्था) संचारले निभाउनुपर्ने जिम्मेवारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमद्वारा संचार माध्यम र संचारकर्मीको भूमिका बिपद व्यवस्थापनको मूल आधारका रूपमा स्थापित गर्न आवश्यक ज्ञान, क्षमता र समन्वय सुदृढ पार्ने प्रयास गरिएको आयोजक एनटिभी कोहलपुरले जनाएको छ।