के भनेर राजीनामा लेख्नु, त्यसैले संकेत दिएँ : मन्त्री रावल

  • नमस्ते कर्णाली

  • कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफूलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा मागेपछि सामाजिक सञ्जाल मार्फत् जानकारी दिएको बताएका छन् । मन्त्री रावलले आज बिहान सामाजिक सञ्जाल मार्फत् आफू मन्त्रालयबाट बाहिरिन लागेको संकेत दिएका छन् ।

    मन्त्री रावलले लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’ रावलले यो फेसबुक स्टाटस अहिले हटाइसकेका छन् ।

    हिजो साँझ मात्रै मुख्यमन्त्री शाहीले राजीनामा मागेको मन्त्री रावलले अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँले हामी दुई जना (रावल र नन्दसिंह बुढा) प्रधानमन्त्री पक्षकाले हटिदिनुपर्ने संकेत गर्दै राजीनामा लेख्न भन्नु भयो । कुनै गल्ती नगरेकाले के भनेर राजीनामा लेख्नु ? त्यसैले बिहानै सामाजिक सञ्जालबाट संकेत दिएको हुँ ।’

    उनीसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई राजीनामा मागिएको मन्त्री रावलले बताए ।

    मुख्यमन्त्री शाहीले हटाए हट्ने, तर रावल र बुढाले पदबाट राजीनामा भने नदिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा राजीनामा नदिने, बरु हटाए हट्ने तयारी भएको स्रोतले जनायो ।

    मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्रीहरु हटाउने तयारी गरेकोबारे हिजो साँझ नै बालुवाटारले सूचना पाएको थियो । यसपछि प्रधानमन्त्री ओली निकटका नेताहरु छलफलमा समेत बसेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने पक्षमा उभिएकाले रावल र बुढालाई हटाएर बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउने तयारी भएको छ ।

    ओली निकट नेता यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार भएको थियो । तर, अविश्वासको प्रस्तावबाट नेता नेपाल पक्षका सात सांसद पछि हटेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको थियो ।

    त्यसबेला शाहीले नेपाल पक्षका नेताहरुसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने सहमति जनाएका छन् । तर, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद पुनर्गठन रोकिदिए ।

    यसपछि कर्णालीका नेताहरुलाई काठमाडौं बोलाए पनि ओली र प्रचण्डबीच कुरा मिल्न नसक्दा शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । स्रोतका अनुसार, प्रचण्डले नरोके आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ ।

    नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरिसकेको छ ।

    यसअघि नै मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् भने अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहीलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् । from onlinekhabar

  • १६ कार्तिक २०७७, आईतवार ०६:५७ प्रकाशित

  • Nabintech