हाम्रो प्रेम र औंसी

  • प्रकाश कुमार सिग्देल

  • सधैंको जस्तो म आज स्कुल जाने बाटोको उकालोमा थिएँ। साथीहरू लेकबाट हुरुर्र फेदीतिर हुत्तिँदै थिए।

    त्यो भीडपछि दुई जना केटीहरू बिस्तारै ओरालो बाटो झरेको देखेँ। एउटी त दिनदिनै जस्तो मैले बाटोमा देख्ने गरेको केटी। अर्कीको अनुहार नौलो लाग्यो मलाई।

    पहिलो भेट, पहिलो नजरमै मेरो धड्कनले अनौठो अनुभूति दियो त्यो बेला। फिल्मी दृष्यको प्रेमलाई वाहियात सम्झने म। तर त्यतिबेला भने त्यस्तै खालको घटनाक्रमले वास्तविक जीवनमै धरपकड गर्दा मुकदर्शक बनेर बसिरह्यो मेरो मन। कस्तो अचम्म!

    स्कुल अलग-अलग भए पनि बाटो एउटै। उनले र मैले तय गर्ने बाटोको दुरी लगभग–लगभग बराबर जस्तै थियो। मात्र गन्तव्यको चोसो दुईतिर फर्किएको हुन्थ्यो। उनी ओरालो लाग्दा म उकालो। म उकालो लाग्दा उनी ओरालो झर्थिन्।

    आफ्नो गाउँमा आधारभूत तह पार गरेपछि मेरो गाउँको हाइस्कुल पढ्न आएकी थिइन् उनी। आफ्नै घरको आँगनसँगै जोडिएको निजी स्कुलमा पढ्न पक्कै आर्थिक अवस्थाले दिएन उनलाई। त्यही भएर होला यति पर पढ्न आएकी।

    मेरो बुवा सरकारी स्कुलमा पढाउनुहुन्थ्यो।

    ‘म सरकारी स्कुलमा पढेर केही गर्न सकिनँ। लास्टाँ यही मास्टर भ’र बस्नुपर्‍या छ। छोराले मैले जस्तो दुःख नपाओस्। बोर्डिङ स्कुलमै पढाउनुपर्छ,’ आमासँग बुवाले बारम्बार भनेको सुन्थेँ मैले।

    नभन्दै सरकारी स्कुलमा पाँच कक्षा पढ्दै गरेकोमा बोर्डिङको तीन कक्षामा भर्ना गराइदिनुभयो बुवाले मलाई। त्यो पनि एक घण्टाको ठाडो टोपी खस्ने उकालो चढेर जानुपर्ने। बोर्डिङमा पढेको पनि छ वर्ष भएछ। आज नौ कक्षामा छु।

    दिदी भने त्यहीँ घर आडैको बुवाले पढाउने स्कुलमा पढ्नुहुन्थ्यो।

    ‘मलाई साथी हुन्छ दिदीलाई पनि मेरै स्कुलमा भर्ना गरिदिनु न बुवा,’ कयौंपटक अनुनय विनय गरेँ। तर मेरो कुराले बुवाको पटक्कै मन खाएन।

    घरको डिल छेवैमा स्कुल थियो। दिदीलाई कति सजिलो थियो। घण्टी लागेपछि खुर्र स्कुलभित्र पसे हुने। सजिलो थियो के भन्ने हो र! म खाएको थालमा चुठेर स्कुल दौडिहाल्थेँ। दिदीले सबै भान्साको काम सकेर स्कुल जानुपर्थ्यो। बिहानभरीको हिँडाइले थाकेको मेरो शरीर, स्कुल पुग्दा नपुग्दै ज्यान गलेर लत्रक्कै हुन्थ्यो। कहिलेकाहीँ त कक्षामै निदाइदिन्थेँ म।

    सुरूसुरूमा मैले उनलाई देख्दा उसकी केटी साथीसँग देख्थेँ। अब भने विस्तारै त्यो दुई जनाको जोडी हुलमा बाँधिन पुगेछ। उनलाई हेर्न, नजर जुधाउन सुरूमा सजिलो थियो। पछि कठीन हुन थाल्यो।

    प्रेम कहानीको ए साइडको रिल सकिएर बी साइडतिर सुरू हुन लागेको कुरा मैले थाहै पाएनछु। उनले आफूसँगै हिँड्ने साथी मार्फत मेरो बारेमा धेरै कुरा बुझिछन्। मेरो पूरै कुण्डली तयार पारिसकिछन्। मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पनि पठाइछन्। यसमा म बेखबर थिएँ। फ्रेन्ड रिक्वेस्ट एसेप्ट त गरेको रहेछु तर नचिनेरै।

    एकदिन फेसबुक चलाउँदै थिएँ। एउटा फोटोमा मेरो आँखा अडियो। स्क्रिन स्क्रोल गर्दै गरेको औंला पनि रोकियो। विश्वास लागेन। फोटोमा क्लिक गरेँ। फोटो जुम गरी–गरी हेरें।

    ‘अरे ! यो प्रोफाइल नेममा त त्यही केटीको पो फोटो छ त।’ म झस्किएँ।

    पहिले उनले प्रोफाइल पिक्चरमा आफ्नो परिचय नखुल्ने खालको फोटो राखेकी रहिछन्। अहिले नयाँ राख्दा पो थाहा भयो।

    अचम्म यसमा लाग्यो, सोही नामबाट मेसेन्जरमा मलाई पटक–पटक मेसेज आएको थियो। त्यसमा फोटो अर्कै भएकाले मैले चिनिनँ।

    ‘नचिनेको मान्छेको मेसेज पनि के रिप्लाई गर्ने र!’ भनी वास्तै गरिनँ। अब मेसेज हेर्न मन लाग्यो। उनी मसँग सम्पर्कमा आउनका लागि हरसम्भव प्रयास गरेकी रहिछन्।

    मैले मेसेज पठाएँ। अहिलेसम्म एकतर्फी मनको बगैंचामा फूलाएका सबै प्रेमका फूल टपक्क टिपेर मेसेन्जरमा राखिदिएँ। तर त्यहीबेला फ्याट्ट वाइफाइ गइदियो।

    ‘मेसेज त पठाएँ तर त्यसको रिप्लाई के आउँछ होला?’ यो थाहा पाउन निकै उत्सुक थिएँ म। छटपटी भयो। मुटु बलेर बाहिरै आगोको मुस्लो आउला जस्तो भयो।

    आमाले खाना खान बोलाउनुभयो। खानामा के खाएँ? पत्तो पाइनँ।

    ‘उफ्, यही बेला नेट जान परेको। चाहिएको बेला कहाँ काम गर्छ र यो भाँडोले पनि?’ म भुन्भुनाउँदै चलाइराखेको मोबाइल फ्यात्त खाटमा फ्याकेँ।

    ‘मेसेजमा कुरा हुदै थियो। के रिप्लाई गर्थी होली ?’ खाटको मोबाइल फेरि हातमा लिएँ। अनि डाटा अन गर्न लागेँ। मोबाइलमा ब्यालेन्स रहेनछ। झन् मन पोल्न थाल्यो। आमाले तलबाट कराउँदै हुनुहुन्थ्यो।

    ‘कति मोबाइलमा मात्रै झुन्डिराख्न सकेको होला यो? जा तल बजार गएर तरकारी लिएर आइज।’ आमाको हातबाट पैसा लिएर म बजारतिर निस्किएँ।

    मेरो ध्याउन्न त्यही मोबाइलको मेसेजमा मात्र थियो। मनमा जतिबेला पनि एउटै कुराले पोलिरहेको हुन्थ्यो। ‘रिप्लाई के गरिन् होलिन्?’ बजारबाट तरकारी लिएर आएँ। रिचार्ज कार्ड पनि किनेँ।

    सिधै कोठामा गएँ र घोप्टिएर बेडमा बसेको मोबाइल हातमा लिएँ। यसो हेरेको वाइफाइ पनि आएको रहेछ। छिटो छिटो मेसेन्जर खोलेँ। मेसेज हेरेँ। तर ‘सिन’ नै छैन। किन नहेरेकी होलिन्?

    जिज्ञासाले मनमा काउकुति लगाउन थाल्यो। हेरेको भए रिप्लाई गर्थिन् कि गर्थिनन् होला? मनोवेगको आँधीबेहेरी सुरू भयो।

    सदाझैं आज पनि स्कुल जान उकालो चढ्दै थिएँ।

    ‘आज त उसलाई भेटेरै कुरा गर्छु। जे पर्छ पर्छ,’ बेस्मारीको आँटले मुटुलाई दह्रो बनायो। तर त्यो आँटमा उसको छाया परेपछि बिस्तारै कमजोर हुँदै जान्थ्यो।

    ‘आज त…’ भन्यो। तर कहिल्यै भन्न नसक्ने। एक हुल साथीहरू ओरालो झर्दै थिए त्यो भीडको बीचमा उसलाई खोजेँ। भेटिनँ। ती दुई जना पछाडि विस्तारै आएका होलान् भन्ने सोचेको थिएँ। मेरो सोचाइ गलत भयो। आएनन्।

    भोलिपल्ट उनकी साथीसँग मात्रै भेट यो। मैले साथीसँग सोधेँ, ‘खै त तिम्रो साथी ?’

    ‘ए ! ऊ त आफ्नो हजुरबुवा बितेर गाउँ गाकी छ। अब पन्ध्र दिनपछि मात्रै आउँछे।’

    त्यो उत्तरले मलाई साह्रै छटपटी बनायो। पन्ध्र मिनेट त उसको कल्पनाबाट डुब्न छोडेर बस्न नसक्ने म, कहाँको पन्ध्र दिन।

    स्कुलको प्रथम त्रैमासिक परीक्षाको रुटिन निस्कियो। पढ्न मन लागे पो! दिमाग उसकै यादले डम्म भरिएको थियो। ही सोच्नै नसक्ने स्थितिमा थिएँ। पढेको कुरा दिमागमा घुस्नै सकेन। जसोतसो परीक्षा उम्काएँ।

    परीक्षाको अन्तिम दिन डिएक्टिभेट गरेको फेसबुक एक्टिभेट गरेँ। ट्याँइट्याँइ र टुइँटुइँ बज्न थाल्यो। त्यो नोटिफिकेसनको घन्टीमध्ये एउटा मेसेज विशेष रहेछ। सबभन्दा माथि उसको मेसेज थियो।

    भर्खरै रिप्लाइ गरेकी रहिछन्, हतार हतार क्लिक गरेँ।

    लेखिएको थियो ‘म त राजीखुसी नै छु। घरमा कुरा गर्नु न है !’

    ए भगवान कुरा कहाँबाट कहाँ पुग्यो? म त तीन छक परेँ। मैले मेसेजमा बिहेको प्रस्ताव गरेको पनि थिइनँ।

    त्यही पनि यो सानो उमेरमा बिहे गर्न कानुनले पनि दिँदैन। मेसेजको रिप्लाई गर्न शब्द भेटिनँ। हेरेँ अनि छोडिदिएँ।

    परीक्षाको रिजल्ट निस्कियो। गणित लागेछ। लौ बित्यास अब। घरमा मार्कसिट देखे भने मार्छन्। डरले होस हवास गुम्यो। दिदीको हिजो मात्रै रिजल्ट आएको, कक्षामा प्रथम हुनुभएको थियो। दिदी घरधन्दा सिध्याएर सरकारी स्कुलमा पढ्दा प्रथम। म भने बोर्डिङमा पढ्दा फेल। बुवा आमाको सामुन्ने नाक मुख देखाउनै लाज भयो मलाई।

    एक मन सोचेँ ‘जे भयो राम्रो भयो। केही छैन। अलिखेर हो। टोकसो सहन परेन नि सहन्छु। तर पछि बोर्डिङमा पढाउँदा नि पास भएन भनेपछि त मलाई अब पढाउने त्यही सरकारी स्कुलमा हो। जहाँ उनी पढ्छिन। अब एकै ठाउँमा पढ्न पाउने भएँ।’

    खुसीले गदगद भएँ। तर परिस्थिति अर्कै बनिदियो।

    ‘त्यहाँको बोर्डिङमा राम्रो पढाइ नहुने रहेछ। अब यसलाई सहरको बोर्डिङको होस्टलमा राखेर पढाउनुपर्‍यो। त्यसपछि तहमा आउँछ कि !’ बुवाले आमासँग कुरा गरेको सुनेँ।

    बुवाको बोली शिलामा कुँदिएको कानुनजस्तो थियो। उहाँ बोलेपछि मान्नैपर्ने। उहाँले धेरै सोचेर मात्र निर्णय लिनुहुन्थ्यो। म सहरको होस्टलमा बसेर पढ्न थालेँ। अब भने मेसेन्जरमा कुराकानी जम्न थाल्यो। यसरी नै केही वर्ष बितेको पत्तै भएन।

    मेसेन्जरमा कुरा हुँदै जान थालेपछि उसको घरको नालीबेली सबै थाहा भयो। छोराकै आशमा बुवा आमाले जाँगर चलाउँदा सातवटी छोरी भएका रहेछन्। सामान्य किसानकी छोरी। पढ्न सिपालू।

    उनको घरमा बिहेको कुरा चल्न थालेछ। उसले ‘आफूले कसैलाई चाहने र त्यही केटासँग बिहे गर्न मन भएको’ कुरा बुवा आमालाई सुनाइछन्।

    ‘केटो कस्तो छ? के छ?’ खोजीनिती गरेछन्। चिना मगाए। मैले उसलाई चिना पठाइदिएँ।

    अफसोच ‘मेरो र उसको बिहे हुनै नसक्ने। भए अनिष्ट हुने’ भनी पण्डितले भनेको कुरा मेरो कानमा पर्‍यो। कारण, म औंसीमा जन्मेको रे। औंसीमा जन्मेको व्यक्तिको जोडी औंसियाँ नै हुनुपर्ने रे !

    धेरै वर्षको पर्खाइपछि मागी बिहे हुने छाँटकाँट नदेखेपछि हामीले भाग्ने निधो गर्‍यौं। सुरुमा बुवाआमा निकै रिसाउनु भयो। पछि उहाँहरुको मन फिर्यो। घर बोलाउनुभयो।

    आज हाम्रो बिहे दसौं वर्षगाँठ हो। हामी एकदमै खुसीसाथ जीवन बिताइरहेका छौं।

    from set0pati

  • २६ कार्तिक २०७७, बुधबार १५:१३ प्रकाशित

  • Nabintech