कोहलपुरमा कांग्रेसद्वारा घोषणा पत्र सार्वजनिक

समुन्नत कोहलपुर निर्माण गर्ने नगरप्रमुख पदका उम्मेद्वार आचार्यको प्रतिवद्धता


  • नमस्ते कर्णाली

  • नेपाली कांग्रेस कोहलपुरले समुन्नत कोहलपुर बनाउने संकल्प सहित आफ्नो प्रतिवद्धता तथा घोषणा पत्र सार्वजनिक गरेको छ । नेपाली कांगे्रसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य र उप–प्रमुख पदकी उम्मेद्वार संगिता सुवेदीले समुन्नत कोहलपुर र “निमुखालाई न्याय, विपन्नलाई आय” भन्ने मुल उद्देश्य सहित कोहलपुरको समग्र विकासको खाका प्रस्तुत गरेका छन् ।
    कोहलपुरलाई समुन्नत नगरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण तथा पर्यटन, खानेपानी तथा सरसफाई, व्यापार, व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सूचना सञ्चार, सामाजिक सुरक्षा, वस्ती व्यवस्थापन तथा आवास, बजारीकरण, आधुनिक पशुपालन तथा कृषि, सिचाई, आय आर्जन तथा रोजगार, यूवा तथा खेलकुद, विद्युत, उद्योग, सडक र यातायात, प्रशासन सुशासन, विपद व्यवस्थापन लगायतका क्षेत्रमा प्रतिवद्धता जनाइएका छ ।

    कोहलपुर नगरमा एउटा आधारभूत विद्यालयलाई आधुनिक, प्रविधिमैत्री, अपांगमैत्री नमूना आवासीय विद्यालय स्थापना गर्ने, नीजि विद्यालय शिक्षा सुधार कार्यक्रमलाई संचालनमा ल्याईने घोषण पत्रमा उल्लेख गरिएको छ । स्वास्थ्य बिमा प्रारम्भ गर्ने, नगर भित्र सवबहानको व्यवस्था गरि संचालन गर्ने, आम कोहलपुरका जनतालाई शुद्ध खानेपानीको पहुंचमा पुर्याउने, विशेष उत्पादन क्षेत्रको पहिचान गरी एक क्षेत्र एक उत्पादन कार्यलाई प्रवद्र्धन गर्ने नीति ल्याउने कम गरिने उल्लेख गरिएको छ । पत्रकारीता विषयमा एमफिल अध्ययन गर्ने पत्रकारको लागि पत्रकारीता एक पटकको लागि विशेष छात्रवृत्ति व्यवस्था गरिएको, दैनिक ज्यालादारी, मजदुरीहरुको तथ्यांकलाई वैज्ञानिक तरिकाले पहिचान गरी वस्तुगत रुपमा परिचयपत्र प्रदान गर्दैै आवश्यक रोजगारी सहितको गरिवी निवारणलाई प्राथमिकता दिईने घोषणापमा उल्लेख गरिएको छ ।
    साथै सामाजिक सद्भावलाई प्रगाढ बनाउने, मठमन्दिर, मस्जिद, चर्च, धर्मशाला, कर्वला क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने, सार्वजनिक जग्गाको पहिचान गरी त्यसको अधिकतम् प्रतिफल आउने गरी व्यवस्थापन गर्ने, विभिन्न धर्मका धर्माबलम्वी र तीर्थ यात्रीका लागि धर्मशाला निर्माण गर्ने अठोट नेपाली कांग्रेसका नगर प्रमुख, उपप्रमुख पदका उम्मेद्वाहरुको प्रतिवद्धता रहेको छ ।
    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले जनताका आधारभूत कुरालाई आत्मासाथ गरी घोषणा पत्र सार्वजनिक गरिएको बताउंदै घोषणा पत्रमा उल्लेख गरिएका सम्पूर्ण पक्षहरुलाई पुरा गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । समुन्नत कोहलपुर निर्माणमा कोहलपुरका जनता, सबै राजनीतिक दल, विभिन्न संघसंस्था लगायत संघ र प्रदेश सरकारसंग सहकार्य गरिने प्रतिवद्धता व्यक्त गर्दै कोहलपुरका जनतालाई विकासको मूलधारमा ल्याईने बताएका छन् । नेपाली कांग्रेस कोहलपुरको तर्फबाट उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदीले आधुनिक र व्यवस्थित कोहलपुर निमार्णको संकल्प लिईएको बताउंदै स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका सबै उम्मेद्वारहरुलाई निर्वाचित गराउन अनुरोध समेत गरेकी छिन् ।
    कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बांकेका सभापति नारायण प्रसाद गौडेलले कांग्रेसले जारी गरेको घोषणा पत्र अनुसार जनप्रतिनिधिहरुले काम गर्ने विश्वास व्यक्त गरेका छन् । घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र संचारकर्मीको सहभागिता रहेको थियो ।

  • १९ बैशाख २०७९, सोमबार १३:३१ प्रकाशित

  • Nabintech