छायाँनाथ राराको आफ्नै प्रतिक चिन्ह

  • नमस्ते कर्णाली

  • मुगुको छायाँनाथ रारा नगरपालिकाले प्रतिक चिन्ह (लोगो) प्रयोगमा ल्याएको छ । मुगुका चार स्थानीय तहमध्ये एकमात्र नगरपालिकाको रुपमा रहेको छायाँनाथ राराले जिल्लामै पहिलोपटक आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याएको हो । नगरपालिकाले लोगो प्रयोग सम्बन्धि सूचना जारी गर्दै अबदेखि नगरपालिकाका हरेक क्षेत्रमा उक्त लोगो प्रयोग गरिने बताएको छ ।
    नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत पदम बहादुर बुढाका अनुसार माघ २४ को कार्यपालिका निर्णय अनुसार उक्त लोगो प्रयोगमा ल्याउनको लागि स्थानीय राजपत्रमा प्रकाशित गरिएको जनाएको छ । राजपत्रमा लोगो प्रकाशित भएसँगै नगरपालिकाले विधिवत रुपमा प्रयोगमा आएको हो । नगरपालिकाले यसअघि लोगो छनौट समितिले माघ २२ गते अनुमोदनका लागि नगरपालिकामा पठाएको थियो । समितिमा तीन वटा प्रतिक चिन्ह आएकोमा एउटालाई छनौट गरिएको उनले बताए । छायाँनाथ रारालाई प्रतिनिधित्व गर्ने एउटा चिन्हलाई नै आधिकारिक मानेर प्रयोगमा ल्याइएको बुढाले जानकारी दिए ।
    यसअघि नगरपालिकाले नगरपालिकाको पर्यटन,पहिचान,ऐतिहासिकता, जनजीवन भूगोल, सांस्कृतिक चिनारी एंव विशिष्ट पहिचान झल्कने प्रतिक चिन्ह (लोगो) बनाउन आह्वान गरेको थियो । सोही अनुसार गठन गरिएको छनौट समितिको निर्णय अनुसार लोगोलाई बैधानिकता दिइएको हो । लोगोमा रारा ताल, छायाँनाथ, हिमालका साथै नेपालको नक्सा र झण्डा समेटिएको छ । नगर प्रमुख विष्णु कुमार भामले नगरपालिकाले आफ्नै लोगो प्रयोगमा आउनु खुसीको कुरा भएको बताए ।

  • २ फाल्गुन २०८०, बुधबार ११:५२ प्रकाशित

  • Nabintech