समलिङ्गी जोडीलाई अस्थायी विवाह प्रमाण–पत्र

  • नमस्ते कर्णाली

  • बर्दियाको बढैयाताल गाउँपालिकाले एक समलिङ्गी जोडीलाई अस्थायी विवाह प्रमाण पत्र प्रदान गरेको छ । बढैयाताल गाउँपालिका वडा नम्बर २ को कार्यालयले विवाद दर्ता गराएको हो । यो सँगै नेपालमा समलिङ्गी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । विवाह गर्नेहरुमा बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङ रहेका छन् । जेष्ठ बढैयाताल–२ निवासी हुन् भने गुरुङ तनहुँको बन्दीपुर–५ निवासी हुन् । जेष्ठ र गुरुङ दुवै जना महिला हुन् । उनीहरुले करिब पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गराएका हुन् । कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाहबन्धनमा बाँधिएका छन् । अञ्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएका थिए । पञ्जीकरण विभागको प्राविधिक शाखासँग समन्वय गरेर आइतबार उनीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बढैयाताल –२ का स्थानीय पञ्जीकाधिकारी एवं वडासचिव दीपक नेपालीले बताएका छन् । प्रमाणपत्रमा हाललाई अस्थायी विवाह दर्ता गरिएको उल्लेख गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा राय तथा निर्देशन उपलब्ध गराइदिन पत्र पठाएर आवश्यक समन्वयमा कानुन नबन्दासम्म अस्थायी विवाह दर्ता प्रमाणपत्र दिइएको बताए । अञ्जु हाल बाँकेको कोहलपुर–५ मा बस्दै आएकी छन् । सुप्रिता बेलायतमा बस्छिन् ।‘कक्षा १२ मा पढ्दै गर्दा फेसबुकमार्फत चिनजान भयो, सम्बन्ध बढाउँदै जाँदा हामी विवाह नै गर्ने मनस्थितिमा पुग्यौँ’, अञ्जुले भनिन ‘प्रेम सम्बन्धमा परेपछि हामीले धार्मिक संस्कारअनुसार विवाह गर्यौं र दुवैजना सँगै बस्न थाल्यौँ ।’
    उनका अनुसार स्याङ्जाको वालिङस्थित छाङछाङदी मन्दिरमा पाँच वर्षअघि उनीहरूले विवाह गरेका थिए । पहिले परिवार र आफन्तबाट अपहेलित हुनुपरे पनि अहिले साथ मिलेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगञ्ज र मायाको पहिचान नेपाल काठमाडौँले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफ्नो अभियानलाई बल पुगेको बताएका छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरीले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफूहरू खुसी भएको बताए ।

  • २ फाल्गुन २०८०, बुधबार ११:५९ प्रकाशित

  • Nabintech