१९, असोज २०८२
बाँके ।बाँके जिल्लामा दुर्गा मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। शनिबार साँझ ७ बजेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञा डुडुवा गाउँपालिका–६, नेपालगञ्ज उपमहानगरपालिका–१४, १५ र २३ सहित नरैनापुर गाउँपालिका–५ मा लागू गरिएको हो।
बडादशैंको अवसरमा मूर्ति विसर्जनका क्रममा केही स्थानमा विवाद र झडपको स्थिति सिर्जना भएपछि सुरक्षाका दृष्टिले प्रशासनले यस्तो कदम चाल्नुपरेको हो। प्रशासनका अनुसार शान्ति–सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्न र सम्भावित अप्रिय घटना रोकथामका लागि निषेधाज्ञा लागू गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार हाल स्थिति नियन्त्रणमा रहेको छ। उहाँले भन्नुभयो, “अहिले अवस्था सामान्य छ। केहीबेरमा सुरक्षाकर्मी र सरोकारवालासँगको बैठक बसेर आगामी निर्णय लिइनेछ।”
सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको र विवाद भएको क्षेत्रमा थप प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासनले सर्वसाधारणलाई अफवाहमा नफस्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।











