क्षेत्रफल बढ्यो, उत्पादन घट्यो: जुम्लाको स्याउ खेती मौसमको मारमा

  • नमस्ते कर्णाली

  • ७, पुस २०८२
    जुम्ला ।जुम्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा १७ हजार पाँच सय ५८ मेट्रिक टन स्याउ उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार कुल उत्पादनमध्ये पाँच हजार पाँच सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात गरिएको छ। यस वर्ष स्याउ उत्पादनबाट जुम्लाले करिब ४१ करोड २९ लाख ८९ हजार दुई सय ७० रुपैयाँ बराबरको आम्दानी गरेको छ।

    कार्यालयको तथ्यांक विश्लेषण गर्दा स्याउ खेतीको क्षेत्रफल बढ्दै गए पनि उत्पादन भने वर्षेनी घट्दो क्रममा रहेको देखिन्छ। गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार आठ सय ४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो, जसबाट जुम्लाले ६१ करोड २४ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो। तुलनात्मक रूपमा यस वर्ष उत्पादन र आम्दानी दुवै घटेको छ।
    कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले गत वर्षको तुलनामा यस वर्ष स्याउ लगाइएको क्षेत्रफल एक सय २० रोपनी र स्याउ फलेको क्षेत्रफल एक सय २५ रोपनीले बढेको जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष चार हजार तीन सय २५ हेक्टरमा सीमित स्याउ खेती यस वर्ष बढेर चार हजार चार सय ४५ हेक्टर पुगेको छ।
    यद्यपि, स्याउ खेती विस्तार हुँदै गए पनि असिना र बेमौसमी वर्षाका कारण उत्पादनमा गिरावट आएको कार्यालयले जनाएको छ। यस वर्ष कुल उत्पादनको करिब ३० प्रतिशत मात्रै स्याउ निर्यात भएको छ। तथ्यांकअनुसार चार हजार चार सय १४ मेट्रिक टन स्याउ जिल्लाभित्र खपत भएको छ। त्यस्तै, नासो र कोशेलीमार्फत दुई हजार ६ सय ४८ मेट्रिक टन स्याउ खपत भएको छ।
    यसैगरी, प्रशोधनतर्फ १५ प्रतिशत अर्थात् दुई हजार ६ सय ४८ मेट्रिक टन स्याउ प्रयोग गरिएको छ। प्रशोधनमा चाना, जुस, जाम, साइडर माड र ब्रान्डी उत्पादन समावेश छन्। साथै, कुल उत्पादनको १० प्रतिशत अर्थात् एक हजार सात सय ६५ मेट्रिक टन स्याउ भण्डारण गृहमा राखिएको तथ्यांक छ।
    पछिल्ला वर्षहरूमा जुम्लामा स्याउ खेतीप्रति स्थानीय किसानको आकर्षण बढ्दै गएको छ। उत्पादनले बजार पाउन थालेपछि किसानहरू स्याउ खेतीतर्फ उत्साहित भएका हुन्। तथ्यांकअनुसार गत वर्ष १९ हजार एक सय २५ घरधुरी स्याउ खेतीमा संलग्न थिए भने यस वर्ष यो संख्या बढेर १९ हजार एक सय ५० पुगेको छ। त्यस्तै, स्याउ खेतीमा संलग्न कृषकको संख्या सात हजार तीन सय २५ बाट बढेर सात हजार तीन सय ५० पुगेको छ।
    जुम्लाको शतप्रतिशत भूभाग स्याउ खेतीका लागि उपयुक्त मानिए पनि हालसम्म करिब १० प्रतिशत जमिनमा मात्रै स्याउ खेती हुँदै आएको छ। जुम्लामा स्याउ खेतीको इतिहास भने धेरै पुरानो छैन। विसं २०२३ सालमा तत्कालीन अञ्चलाधीश निराराज विष्टले भारतको काश्मिरबाट स्याउका बोट ल्याएर परीक्षणका रूपमा रोप्न लगाएपछि यहाँ स्याउ खेती सुरु भएको हो।
    प्रदेशसभा सांसद देवेन्द्रबहादुर शाहीका अनुसार ती स्याउका बोटले राम्रो उत्पादन दिएपछि जुम्लामा व्यावसायिक स्याउ खेतीको इतिहास अघि बढेको हो। सडक सञ्जाल नपुगेको समयमा स्याउ ढुवानीका लागि हवाईजहाजमा निर्भर हुनुपर्ने बाध्यता थियो। तर कर्णाली राजमार्ग निर्माणपछि जुम्लाको स्याउले सहजै बजार पाउन थालेको उहाँले बताउनुभयो।
    ३१ चैत २०६३ मा कर्णाली राजमार्गले पहिलोपटक जुम्लालाई औपचारिक रूपमा जोडेसँगै जुम्लाको परिचय ‘स्याउको राजधानी’का रूपमा स्थापित भएको हो। अहिले जुम्लाको स्याउ कर्णाली राजमार्ग हुँदै देशका विभिन्न बजार मात्र होइन, विश्व बजारसम्म पुग्न थालेको छ। सिङ्गो कर्णाली प्रदेशको अर्थतन्त्र चलायमान बनाउने आधारका रूपमा पनि जुम्लाको स्याउलाई हेरिँदै आएको छ।
    यद्यपि, उत्पादन र पहिचान बढ्दै गए पनि जुम्ली किसानले अझै उचित मूल्य र सहज बजार पहुँच पाउन नसकेको गुनासो गरेका छन्। परम्परागत खेती प्रणाली, कमजोर ढुवानी व्यवस्था, सुधारिएको कृषि अभ्यासको अभाव र स्याउ टिपिसकेपछि आवश्यक शीतभण्डार नहुँदा किसान समस्यामा छन्। यसले स्याउको उपभोग अवधि बढ्न सकेको छैन।

    किसानहरूका अनुसार स्याउको ग्रेडिङ, छनोट र आधुनिक प्याकेजिङसम्बन्धी ज्ञान, सीप र प्रविधिको कमीले पनि बजार प्रतिस्पर्धामा चुनौती थपिएको छ। जुम्ला मात्र होइन, कालीकोट, मुगु, हुम्ला र डोल्पाका केही क्षेत्रमा उत्पादन हुने स्याउको बजारीकरणमा सरकारले प्रभावकारी ध्यान दिए समग्र कर्णाली प्रदेशलाई आत्मनिर्भरताको बाटोमा लैजान सकिने सांसद शाहीको धारणा छ।

  • ७ पुष २०८२, सोमबार १७:३० प्रकाशित

  • Nabintech