८, असार २०८२
बाँके ।बाँकेको कोहलपुर –१३ स्थित डुडुवा खोलामा पौडी खेल्नेक्रममा डुबेर सात बर्षिय बालक सुजन परियारको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले दिनुभएको जानकारीअनुसार कोहलपुर –१३ का सोभबहादुर दमाईका सात बर्षिय छोरा सुजन परियार साथीभाइसँग डुडुवा खोलामा पौडी खेल्न गएको बेला शनिवार दिउँसो साढे ३ बजे डुबेको खबर आएको बताउनुभयो ।
उहाँले सूचना आउनेबित्तिकै घटनास्थलमा पुगेको प्रहरी टोलीले खोजी गरेको र आधा घण्टाभित्र बालकलाई फेला पारेर कोहलपुर शिक्षण अस्पतालमा पुगाएको बताउनुभयो ।
अस्पताल पुगाउने वित्तिकै चिकित्सकहरुले ती बालकलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार बालकका आमाबुवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहदै आएका छन् ।
बालकको शवलाई हाल शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरेर आइतबार पोष्टमार्टम पश्चात शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।











