झिसमिसे उज्यालोमै चिसोले काप्दै मलको लाइनमा  बाँकेका किसानको पीडा सधै  उस्तै

  • नमस्ते कर्णाली

  • १८, पुस २०८२

    बाँके ।झिसमिसे उज्यालो नहुँदै बिहान चार बजे नेपालगन्ज उपमहानगरपालिका–६, फुल्टेक्रास्थित जिल्ला सहकारी संघ बाँकेको कार्यालय अगाडि करिब सय जना किसानको लाइन लागिसकेको थियो । बाक्लो जाडोले कठ्याङ्ग्रिएको शरीर, चिसोले कापिरहेका हातमा खाली बोरा र मनमा एउटै आशा—आज त मल पाइएला ।

    न घाम ननिस्किएको त्यो समय किसानका लागि बिहानभन्दा बढी संघर्षको सुरुवात थियो । चिसोले ओठ निलो देखिए पनि गहुँबाली जोगाउने चिन्ताले कसैलाई घर फर्किन मन थिएन ।  लाइनमा उभिनु भएका नेपालगन्ज–६ का अलि अहमद खाँका लागि यो दृश्य कुनै नौलो थिएन । विगतका वर्षहरूमा पनि उहाँले यस्तै झिसमिसे उज्यालोमै घरबाट निस्केर दिनभर लाइन बस्नु परेको छ ।

    धेरै पटक पालो नआउँदै मल सकिएको सूचना सुनेर रित्तो हात फर्किनु परेको अनुभव उहाँसँग थुप्रै छन् । “हरेक वर्ष गहुँ सिजन आयो कि मलको खोजी सुरु हुन्छ,” उनले भने, “बिहानै आए पनि पाइन्छ भन्ने भरोसा हुँदैन ।” त्यसैले यसपटक पनि उहाँको मन ढुक्क थिएन । तर, लामो प्रतीक्षापछि उनले एक बोरा युरिया मल पाए ।

    “धेरैपटक खाली हात फर्किएको छु,” उनले चिसोमा पनि मुस्कान देखाउँदै भने, “यस पटक जसोतसो एक बोरा पाइयो । अब खेतमा हाल्न पाइने भयो ।” उनका लागि त्यो एक बोरा मल केवल रासायनिक पदार्थ थिएन, त्यो गहुँबाली बाँच्ने आशाको आधार थियो ।

    तर, सबै किसानका लागि यो बिहान आशाको किरण बनेन । नेपालगन्ज उपमहानगरपालिका–१७, परस्पुरका नरेश यादव बिहान पाँच बजेदेखि लाइनमा बस्नु भएको थियो । गहुँमा हाल्ने युरियाको ठिक समय भएकाले उनी तेस्रो पटक मल लिन आएका हुन । अघिल्ला दुई पटक पनि बिहानैदेखि लाइन बसेर निराश भएर फर्किनुपरेको अनुभव उनीसँग छ । यस पटक पालो आउँछ भन्ने आशा थियो, तर पालो नआउँदै ‘मल सकियो’ भन्ने सूचनाले उनको सपना फेरि अधुरै रह्यो ।

    “दुईपटक पनि यस्तै भयो,” उनले निराश हुँदै भने, “अहिले नपाएपछि पछि पाउनुको कुनै अर्थ हुँदैन । गहुँमा मल हाल्ने समय यही हो । ढिलो भयो भने बाली कमजोर हुन्छ ।” डुडुवा गाउँपालिका–६, हिरमिनियाकी रिता मौर्यका लागि पनि मलको लाइन नयाँ अनुभव होइन । झिसमिसे उज्यालोमै चिसोले काप्दै लाइनमा उभिनु उनका लागि हरेक वर्षको बाध्यता जस्तै बनेको छ । “मल थोरै आउँछ, किसान धेरै हुन्छन्,” उनले भने, “अघिल्लोपटक त भिड धेरै भएर वितरण नै रोकियो ।” उनका अनुसार सरकारी मल नपाएपछि निजी पसलबाट महँगोमा मल किन्नुपर्छ । “त्यसले लागत बढाउँछ, तर गहुँको मूल्य भने बढ्दैन,” उनको गुनासो छ ।

    हरेक वर्ष दोहोरिने गहुँ सिजनको व्यथा

    बाँकेका किसानहरूका अनुसार धान कटाइ सकिएपछि गहुँ खेती सुरु हुने समयसँगै मलको अभाव नियमित समस्याजस्तै बनेको छ । राप्तीसोनारी–५ का किसान शिवराज थारू भन्छन्, “हरेक वर्ष सरकार भन्छ—मल पर्याप्त छ । तर, किसानले खेतमा हाल्ने बेला मल पाउँदैन ।”

    उनका अनुसार गहुँमा पहिलो टपड्रेसिङको बेला युरिया नपाएपछि बालीको वृद्धि कमजोर हुन्छ । “पछि मल पाए पनि उत्पादन बढ्दैन,” उनले भने, “यसले किसानको आम्दानी घटाउँछ र ऋण थपिन्छ ।”

    थोरै बोरा, धेरै किसान

    जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक नवराज उपाध्यायका अनुसार सोमबार मात्र २ सय ४० बोरा युरिया मल वितरण गरिएको थियो । तर, पाँच सयभन्दा बढी किसान मल लिन कार्यालय पुगेका थिए । “लाइनमा बसेका आधालाई मात्र मल दिन सक्यौँ,” उनले जानकारी दिए ।

    यद्यपि, उनले बाँकेमा मलको वास्तविक अभाव नभएको दाबी गरे । “धान सिजनमा मल पाइँदैन कि भनेर किसानले भण्डारण गर्ने प्रवृत्तिले अहिले अभावजस्तो देखिएको हो,” उनको भनाई छ । तर, किसानहरू भने हरेक वर्ष गहुँ सिजनमै यस्तो समस्या दोहोरिने गरेको बताउँछन् ।

    गोदाममा मल, खेतमा अभाव

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार देशभरका सरकारी गोदाममा ८८ हजार टनभन्दा बढी रासायनिक मल मौज्दात छ । थप ५९ हजार टन मल आयातको प्रक्रियामा रहेको पनि मन्त्रालयको दाबी छ । कागजमा हेर्दा मल प्रशस्त देखिन्छ । तर, झिसमिसे उज्यालोमै चिसोले काप्दै लाइन बस्दा पनि किसानले मल नपाउनु सरकारी दाबी र जमिनको यथार्थबीचको ठूलो दूरीलाई उजागर गर्छ । कृषि विज्ञहरू भन्छन्—समस्या मलको कुल परिमाणभन्दा पनि समयमै सही ठाउँमा वितरण गर्न नसक्नु हो ।

    डिजिटल प्रणाली, तर भौतिक संघर्ष

    मल आपूर्ति र वितरण पारदर्शी बनाउन मन्त्रालयले ‘अनुदानको मल वितरण सूचना प्रणाली’ लागू गरेको छ । अनलाइनमार्फत मौज्दात हेर्न सकिने व्यवस्था भए पनि बिहान तीन–चार बजेदेखि लाइनमा बस्नुपर्ने किसानका लागि यो प्रणाली कागज र स्क्रिनमै सीमित देखिन्छ ।

    “अनलाइनमा मल छ भनेर देखाउँछ,” किसान नरेश यादव भन्छन्, “तर यहाँ आएपछि सकियो भनिन्छ ।” बाँकेको यो जाडो र झिसमिसे बिहानले एउटा गहिरो यथार्थ बोकेको छ—सरकारी गोदाममा हजारौँ टन मल र किसानका हातमा एक बोरा मलका लागि घण्टौँको प्रतीक्षा । कसैका लागि त्यो बोरा आशाको बीउ बन्यो, कसैका लागि फेरि एकपटक निराशाको भारी । खेतमा हरियाली ल्याउने मल, अहिले पनि बाँकेका किसानका लागि हरेक गहुँ सिजनमा सबैभन्दा दुर्लभ भरोसा बनेको छ ।

  • १८ पुष २०८२, शुक्रबार १२:१४ प्रकाशित

  • Nabintech