निर्वाचन सुरक्षा सुदृढ गर्न बर्दियामा घटना न्यूनीकरण अभ्यास सुरु

  • नमस्ते कर्णाली

  • २७, माघ २०८२
    बाँके। आसन्न निर्वाचनलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाले निर्वाचन लक्षित घटना न्यूनीकरण अभ्यास सुरु गरेको छ। गुलरिया नगरपालिका–४ स्थित कभर्ड हलको खेल मैदानमा आयोजित उक्त अभ्यास कार्यक्रममा निर्वाचनका क्रममा हुन सक्ने सम्भावित घटनालाई कसरी नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको हो।
    घटना अभ्यास कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दिया, नेपाली सेनाको बज्र दल गण, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय बर्दियाका सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। अभ्यासमार्फत निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि, भीड व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा तथा मतपेटिका सुरक्षाका विषयमा आवश्यक रणनीति र कार्ययोजना प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा मतदान केन्द्रमा आउने मतदाताको सुरक्षा सुनिश्चित गर्ने उपाय, मतदान स्थलमा भीड व्यवस्थापन गर्ने तरिका, सुरक्षाकर्मी तथा कर्मचारीको प्रभावकारी परिचालन, मतपेटिकाको सुरक्षित ढुवानी तथा संरक्षण लगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो। साथै, गोप्य मतदान प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन अपनाउनुपर्ने सावधानीबारे पनि सहभागीलाई प्रशिक्षण दिइएको थियो।
    बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्वाचनलाई मध्यनजर गर्दै सम्भावित जोखिम र चुनौतीलाई समयमै व्यवस्थापन गर्न यस्तो अभ्यास सञ्चालन गरिएको बताउनुभयो। उहाँले निर्वाचन प्रक्रियालाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। “निर्वाचनका क्रममा हुन सक्ने सम्भावित घटनालाई पूर्वानुमान गरी रोकथाम तथा न्यूनीकरण गर्न यस अभ्यासले महत्वपूर्ण भूमिका खेल्नेछ,” प्रमुख जिल्ला अधिकारी हमालले भन्नुभयो।
    अभ्यास कार्यक्रममा मत खसाल्न आउने मतदाताको सुरक्षादेखि मतदान केन्द्रको समग्र सुरक्षा व्यवस्थासम्मका विषयमा सुरक्षाकर्मीलाई व्यवहारिक अभ्यास गराइएको थियो। यसले निर्वाचनका बेला हुने भीड, विवाद तथा अन्य जोखिमपूर्ण अवस्थालाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
    दुई निर्वाचन क्षेत्र रहेको बर्दिया जिल्लामा क्षेत्र नम्बर १ अन्तर्गत ७५ मतदान स्थल र १९९ मतदान केन्द्र रहेका छन्। त्यस्तै क्षेत्र नम्बर २ मा १८८ मतदान स्थल रहेका छन्। यसरी जिल्लाभर कुल ३८७ मतदान स्थल कायम गरिएको छ।

    आसन्न निर्वाचनमा बर्दिया जिल्लामा तीन लाख २३ हजार २६६ मतदाता रहेका छन्। जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ६८ हजार मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा एक लाख ५५ हजार २३२ मतदाता रहेका छन्। निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा निकायले तयारीलाई तीव्र बनाएको जनाइएको छ।

  • २९ माघ २०८२, बुधबार ०९:३८ प्रकाशित

  • Nabintech