१७, फाल्गुन २०८२
बाँके ।आसन्न प्रतिनिधिसभा निर्वाचनको माहोलसँगै बाँके निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ । सो क्षेत्रबाट उम्मेदवारी दिएका सूर्य ढकालले “समृद्धितर्फ पाइला चालौं, दिगो विकासको जग बसालौं” भन्ने नारासहित घरदैलो अभियानमार्फत मतदातासमक्ष आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् ।

ढकालले फाल्गुन २१ गते हुने मतदानमा सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन मतदातासँग आग्रह गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार बाँके–१ लाई आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारका दृष्टिले नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने र कृषि तथा साना उद्यमलाई प्रवर्द्धन गरिने उनको भनाइ छ ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले विगतमा सुरु भएका तर अधुरा रहेका विकास योजनाहरूलाई पूर्णता दिन सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । “अब अधुरा योजना पूरा गराउन र विकासलाई निरन्तरता दिन सूर्य ढकाललाई जिताउनुपर्छ,” एक स्थानीयले बताए ।

निर्वाचन नजिकिँदै जाँदा क्षेत्रका विभिन्न स्थानमा कोणसभा, अन्तरक्रियात्मक भेटघाट तथा घरदैलो कार्यक्रमहरू तीव्र बनेका छन् । मतदाताहरूले उम्मेदवारका एजेन्डा, कार्ययोजना र विकासप्रतिको स्पष्ट दृष्टिकोणबारे चासो राख्दै जिम्मेवार र परिणाममुखी नेतृत्व चयन गर्ने तयारीमा देखिएका छन् ।
निर्वाचन आयोगले तोकेको मितिअनुसार फाल्गुन २१ गते मतदान हुँदैछ । सो दिन मतदाताले आफ्नो प्रतिनिधि चयन गर्नेछन् । बाँके–१ मा यसपटकको चुनावी प्रतिस्पर्धा थप रोचक र अर्थपूर्ण बन्ने आकलन गरिएको छ ।












