प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँकेको सीमा ७२ घण्टा बन्द

  • नमस्ते कर्णाली

  • १९, फाल्गुन २०८२
    बाँके ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको बाँकेको करिब ६५ किलोमिटर लामो सीमा ७२ घण्टाका लागि पूर्णरूपमा बन्द गरिएको छ।
    निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले नेपाल–भारत सीमास्थित जमुनाहा नाका सहित जिल्लाका सबै सहायक नाकाहरू सोमबार राति १२ बजेदेखि लागू हुने गरी ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
    बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार हालै सम्पन्न नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीहरूको बैठकमा भएको सहमतिपछि सीमा बन्द गर्ने निर्णय गरिएको हो। उनका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन दुवै देशका प्रशासनिक निकायबीच समन्वय गरिएको छ। “निर्वाचन सुरक्षाका लागि नेपाल पक्षबाट मात्र नभई भारतीय प्रशासनले पनि आफ्नो भूभागतर्फबाट सीमा पूर्णरूपमा बन्द गरेको छ,” उहाँले भन्नुभयो।
    तोकिएको अवधिभर एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवासम्बन्धी सवारी साधन बाहेक अन्य कुनै पनि व्यक्ति वा सवारीसाधनलाई सीमा नाकाबाट आवागमन गर्न अनुमति दिइने छैन। जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाह नाका लगायतका सहायक नाकाहरूमा सुरक्षाकर्मीको संख्या बढाइएको जनाएको छ। प्रहरीका अनुसार १८ फागुनदेखि २१ फागुन रातिसम्म निरन्तर गस्ती परिचालन गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले सीमा क्षेत्रसँग जोडिएका अधिकांश मतदानस्थल अति संवेदनशील रहेकाले विशेष सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो।उहाँका अनुसार दुवै देशका सुरक्षाकर्मीबीच आवश्यक समन्वयका साथ संयुक्त गस्तीसमेत सुरु गरिएको छ।

     

  • १९ फाल्गुन २०८२, मंगलवार १८:३२ प्रकाशित

  • Nabintech