२०४८ सालयता अधिकांश निर्वाचनमा कुनै न कुनै रूपमा अशान्ति देखिएको बाजुरामा दलगत प्रभावका आधारमा मतदान केन्द्र कब्जा गर्ने, विपक्षी मतदातालाई बुथसम्म जान नदिने तथा फर्जी मत खसाल्ने प्रवृत्ति मुख्य चुनौतीका रूपमा रहँदै आएको छ।
प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानाले बाजुरालाई उच्च सुरक्षा प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार यसपटक ड्रोन र सीसीटीभी फुटेजमार्फत शंकास्पद गतिविधि पहिचान गरी तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिनेछ।
आवश्यक परेमा तत्काल सहयोगका लागि हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै संयन्त्र परिचालन गरिएको सुरक्षा निकायको भनाइ छ।











