२१, फाल्गुन २०८२
कर्णाली ।कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। २३–२४ भदौको ‘जेन–जी आन्दोलन’पछि उत्पन्न राजनीतिक गतिरोधका बीच संवैधानिक समयतालिकाभन्दा दुई वर्ष अगावै सम्पन्न गरिएको यो निर्वाचनलाई चासोका साथ हेरिएको थियो।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनले तीव्र रूप लिएपछि प्रतिनिधिसभा विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। सो सरकारले ताजा जनादेशमार्फत नयाँ प्रतिनिधिसभा गठन गर्ने म्याण्डेटअनुसार निर्वाचन गराएको हो।
निर्वाचन हुने–नहुने अन्योलका बीच प्रदेशका अधिकांश क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनु सरकार र सुरक्षा निकायका लागि उपलब्धि मानिएको छ। एकाध स्थानमा सामान्य विवाद देखिए पनि समग्र प्रक्रिया व्यवस्थित रहेको जनाइएको छ। मतदान सकिएसँगै मतपेटिका संकलन र मतगणनाको तयारी सुरु गरिएको छ।
प्रदेश निर्वाचन कार्यालय, सुर्खेतका अनुसार कर्णालीभर करिब ५५ दशमलव १ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण छ। कुल १० लाख ४८ हजार १३८ मतदातामध्ये पाँच लाख ७७ हजार ५४२ जनाले मताधिकार प्रयोग गरेका छन्। प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार मतदान गर्नेमा तीन लाख १२ हजार ८४५ महिला र दुई लाख ६४ हजार ६९५ पुरुष रहेका छन्। प्रदेशभर ९४१ मतदानस्थल र १,४३७ मतदान केन्द्रमार्फत मतदान भएको थियो।
जिल्लागत मतदान अवस्था
जिल्लागत रूपमा हेर्दा डोल्पामा सबैभन्दा बढी ६५ दशमलव ७३ प्रतिशत मतदान भएको छ। हुम्लामा ६४ दशमलव ५५ प्रतिशत, मुगुमा ६० दशमलव ५६ प्रतिशत र रुकुम पश्चिममा ५८ दशमलव ४४ प्रतिशत मत खसेको छ। जाजरकोटमा ५६ दशमलव ८४ प्रतिशत र जुम्लामा ५६ दशमलव ८८ प्रतिशत मतदान भएको छ।
सुर्खेतमा क्षेत्र नं. १ मा ५७ दशमलव ९ र क्षेत्र नं. २ मा ५७ दशमलव ४६ प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दैलेख क्षेत्र नं. १ मा ५० दशमलव ५२ र क्षेत्र नं. २ मा ४८ दशमलव २४ प्रतिशत मतदान भएको छ। कालिकोटमा करिब ५० प्रतिशत तथा सल्यानमा ४४ दशमलव ४० प्रतिशत मत खसेको छ।
सुर्खेतमा मतगणनाको तयारी
सबैभन्दा बढी मतदाता रहेको सुर्खेतमा दुई लाख ४८ हजार ९४३ मतदाता रहेका थिए। क्षेत्र नं. १ मा १ लाख २२ हजार ९०२ मतदाता रहेकामा ७० हजार १६७ मत खसेको छ भने क्षेत्र नं. २ मा १ लाख २७ हजार ६६८ मतदातामध्ये ७३ हजार ३५६ मत खसेको छ। जिल्लामा दुई अस्थायीसमेत २४२ मतदानस्थल र तीन अस्थायीसमेत ३०५ मतदान केन्द्र रहेका थिए। मतदान सम्पन्न भएसँगै मतपेटिका जिल्ला सदरमुकाममा ढुवानी गर्ने कार्य जारी छ।
दुर्गम जिल्लामा हेलिकप्टर तयारी
कर्णालीका हिमाली जिल्लामा मतपेटिका संकलन विशेष व्यवस्थासहित भइरहेको छ। नेपाल प्रहरीका अनुसार एकीकृत सुरक्षा योजनाअनुसार सुगम जिल्लाबाट मतपेटिका सदरमुकाम पुर्याइसकिएको छ भने हुम्ला, मुगु र डोल्पाका दुर्गम तथा उत्तरी भेगका मतदानस्थलबाट मतपेटिका ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर शुक्रबार बिहानबाट मतगणना सुरु गरिने जनाइएको छ।
मतदातामा उत्सुकता, तर उत्साह कम
यसपटक मतदातामा विगतको जस्तो उच्च उत्साहभन्दा पनि परिणामप्रतिको उत्सुकता बढी देखिएको छ। सुर्खेत–२ का विभिन्न मतदानस्थलमा गरिएको स्थलगत अवलोकनका क्रममा मतदाताले विगतमा पनि मतदान गरेको उल्लेख गर्दै विकासको अनुभूति भए पनि सुशासन स्थापित नभएको गुनासो गरे। यसपटकको निर्वाचनले ठोस परिवर्तन ल्याउनेमा भने धेरै मतदाता ढुक्क देखिएका छैनन्।
देशभर करिब ६० प्रतिशत मतदान
यसैबीच निर्वाचन आयोगले देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षित स्थानमा पुर्याउने कार्य जारी रहेको र आवश्यक प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।
कर्णाली प्रदेशमा सम्पन्न यस निर्वाचनले राजनीतिक संक्रमणपछि स्थायित्वको मार्ग तय गर्ने अपेक्षा गरिएको छ। अबको केही दिनमै सार्वजनिक हुने मतपरिणामले प्रदेश तथा राष्ट्रिय राजनीतिमा नयाँ समीकरण निर्माण गर्नेछ।











