लुम्बिनी प्रदेशसभा छाडेर संघीय चुनावमा ‘दाउ’ — चारमध्ये एक मात्र सफल, तीन जना प्रतिस्पर्धामै पछि

  • नमस्ते कर्णाली

  • २६, फाल्गुन २०८२
    बाँके ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका चार जनामध्ये एक जना मात्र सफल भएका छन् भने अन्य तीन जना मुख्य प्रतिस्पर्धामा समेत आउन नसकी चौथो, पाँचौँ र छैटौँ स्थानमा सीमित भएका छन्। तीमध्ये एक जनाको त जमानतसमेत जफत भएको छ।
    दाङ, बर्दिया, रूपन्देही र बाँके जिल्लाबाट प्रदेशसभा सदस्य रहेका चार नेताले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएका थिए। दाङबाट प्रदेशसभा सदस्य रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, बर्दियाबाट निर्वाचित उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित कन्हैया बानियाँ तथा बाँके क्षेत्र नम्बर १ बाट २०७९ मा निर्वाचित कृष्णा केसी नमुनाले प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहँदै पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।
    यीमध्ये रूपन्देहीका कन्हैया बानियाँ मात्र प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् भने अन्य उम्मेदवारहरू मुख्य प्रतिस्पर्धाबाट बाहिरिएका छन्। बाँकेकी कृष्णा केसी नमुनाको भने जमानतसमेत जफत भएको छ। निर्वाचन परिणामअनुसार उहाँले जम्मा १ हजार२ सय ४० मत मात्र प्राप्त गर्नुभएको छ।
    २०७९ सालको प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ (१) बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएका बानियाँले प्रतिनिधिसभा उम्मेदवारी दिनुअघि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी रूपन्देही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो।
    राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका उहाँले नेकपा एमालेका उम्मेदवार प्रमोद यादवलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान बनाउन सफल हुनुभएको हो। प्रदेशसभाको जिम्मेवारीबाट संघीय राजनीतिमा भूमिका परिवर्तन गर्ने समय आएको महसुस गरेकाले आफूले प्रतिनिधिसभा चुनाव रोजेको र जनताले त्यसमा साथ दिएको उहाँले बताउनुभएको छ। ‘जेनेरेसन जेन्जी’ को भावना र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने अभियानप्रति समर्थन जनाउन मर्चवार क्षेत्रबाट पनि योगदान देखियोस् भन्ने सोचले आफूले संघीय निर्वाचन रोजेको उहाँको भनाइ छ।
    यता बाँके क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएकी कृष्णा केसी नमुनाले पनि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो। तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित उहाँ यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्नुभएको थियो। प्रदेश सरकारकी पूर्वमन्त्रीसमेत रहनुभएकी नमुना केसी भने निर्वाचनमा छैटौँ स्थानमा सीमित हुनुभएको छ र उहाँको जमानतसमेत जफत भएको छ।
    त्यस्तै दाङ क्षेत्र नम्बर २ (२) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका धनबहादुर मास्की पनि नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो। प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहनुभएका मास्कीले ९ हजार ३ सय २८ मत प्राप्त गर्दै चौथो स्थान हासिल गर्नुभएको छ।
    बर्दिया क्षेत्र नम्बर २ (२) बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका धर्मबहादुर चौधरीले पनि पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्नुभएको थियो। प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले ४ हजार ४ सय ७२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित हुनुभएको छ। उहाँ उज्यालो नेपाल पार्टीका महासचिवसमेत हुनुहुन्छ।
    सङ्घीयता व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकी अधिकांश निर्णय केन्द्रमै निर्भर भइरहेकाले जनताको माग र मुद्दा उठाउन संघीय संसद्मा जान आवश्यक ठानेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको उहाँले उम्मेदवारीका क्रममा बताउनुभएको थियो। तर निर्वाचन परिणाम सार्वजनिक भएपछि उहाँले औपचारिक प्रतिक्रिया भने दिनुभएको छैन।
    प्रदेशसभा सदस्य पदबाट कार्यकाल बाँकी रहँदै राजीनामा दिएर संघीय निर्वाचनमा उम्मेदवारी दिएका यी नेताहरूमाथि सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ। जिम्मेवारी बिचमै छाडेर चुनावी प्रतिस्पर्धामा होमिएको तर न पुरानो पद जोगिएको न नयाँ संसद्मा स्थान पाइएको भन्दै धेरैले टिप्पणी गरिरहेका छन्।
    यसैबीच बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पनि पदबाट राजीनामा दिएर जनता समाजवादी पार्टी नेपालबाट बाँके–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो। जसपा नेपालबाटै उपप्रमुख निर्वाचित उहाँले पार्टीको योजनाअनुसार पद छाडेर निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको भए पनि निकै कम मत प्राप्त गर्दै पछि पर्नुभएको छ।

  • २६ फाल्गुन २०८२, मंगलवार १४:०६ प्रकाशित

  • Nabintech