२८,फाल्गुन २०८२
बाँके । बाँकेको भिखारी पुर्वा–पर्वतीपुर क्षेत्रको नहरमा कथ्था फ्याक्ट्रीबाट फालिएको फोहोर पानी मिसिँदा स्थानीय बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ। दुर्गन्धित तथा कालो पानीका कारण नहर आसपासका बस्तीमा बसोबास गर्ने नागरिक मात्र होइन, पशुपन्छीको ज्यानसमेत जोखिममा परेको स्थानीयवासी रमेश मौर्यले बताएका छन्।
स्थानीय शिया यादवका अनुसार राँझा नहरबाट बग्ने पानी बनिया गाउँ हुँदै जानकी गाउँपालिकाको इलाका प्रहरी कार्यालय खाजुराखुर्द नजिकको नालासम्म पुग्दा अत्यन्तै कालो र दुर्गन्धित भएको छ। कथ्था फ्याक्ट्रीबाट निस्कने फोहोर पानी नहरमा मिसाइएपछि नहरको पानी प्रयोग गर्नै नसकिने अवस्था बनेको उनले बताए।
उनका अनुसार नहरको पानीबाट आउने दुर्गन्धले आसपासका बस्तीका बासिन्दालाई बस्नै कठिन बनाएको छ। “पानी निकै गन्हाउने र कालो भएपछि यहाँको वातावरण नै बिग्रिएको छ,” यादवले भने, “नहरको पानीले पशुपन्छी बिरामी पर्न थालेका छन् भने खेतबारीमा सिँचाइ गर्दा अन्नबालीमा पनि नराम्रो असर परेको छ।”
स्थानीय किसानहरूका अनुसार पहिले सिँचाइका लागि प्रयोग गरिने यही नहर अहिले प्रदूषित भएपछि खेतीपातीसमेत प्रभावित हुन थालेको छ। कालो र दुर्गन्धित पानी खेतमा हाल्दा माटोको गुणस्तर बिग्रने डर किसानहरूमा बढेको छ। कतिपय किसानले त सिँचाइ गर्न नै छोड्नुपर्ने अवस्था आएको बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार लामो समयदेखि उक्त फ्याक्ट्रीबाट निस्कने फोहोर पानी नहरमा मिसाइँदै आएको छ। यसले वातावरणीय जोखिम बढ्दै गएको उनीहरूको गुनासो छ। दुर्गन्धका कारण नहर आसपास बसोबास गर्ने नागरिकलाई दैनिक हिँडडुल गर्नसमेत कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
यस विषयमा जानकी गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकानाथ यादवले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जानकारी गराउँदै सम्बन्धित निकायलाई तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्न आग्रह गरिएको बताए।
यादवले फ्याक्ट्रीबाट नहरमा फोहोर पानी मिसाउने कार्यले स्थानीयको स्वास्थ्य, पशुपन्छी तथा कृषिमा गम्भीर असर पारिरहेको भन्दै यस्तो गतिविधि तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिए। “यो विषय जनस्वास्थ्य र वातावरणसँग प्रत्यक्ष जोडिएको छ, त्यसैले सम्बन्धित निकायले तुरुन्तै कदम चाल्नुपर्छ,” उनले भने।
यसैबीच जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यो विषय जनस्वास्थ्य र वातावरणसँग सम्बन्धित संवेदनशील विषय भएकाले गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी छानबिन गर्ने तयारी गरिरहेको जानकारी दिए।
अध्यक्ष खाँका अनुसार नहरमा फोहोर पानी मिसाउने गतिविधि पुष्टि भएमा कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही गरिनेछ। “यदि उद्योगबाट वातावरणीय मापदण्ड विपरीत काम भएको पाइयो भने कानुन अनुसार कारबाही हुन्छ,” उनले स्पष्ट पारे।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पनि स्थानीयबाट गुनासो आएको पुष्टि गर्दै वास्तविक अवस्था बुझ्न अनुगमन टोली गठन गर्ने तयारी भइरहेको बताए। उनका अनुसार अनुगमनपछि प्राप्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइनेछ।
गाउँपालिकाका लेखा अधिकृत मतिन अन्सारीले वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विषय भएकाले यसलाई बेवास्ता गर्न नसकिने बताए। उनले सरोकारवाला निकायसँग सहकार्य गरेर समस्या समाधानतर्फ पहल गरिने जानकारी दिए।
यता स्थानीय बासिन्दाले भने नहरमा मिसाइएको दुर्गन्धित र प्रदूषित पानीले मानव स्वास्थ्यसँगै पशुपन्छीको ज्यानसमेत जोखिममा पारेको भन्दै तत्काल अनुगमन गरी समस्या समाधान गर्न माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायले समयमै ध्यान नदिए वातावरणीय संकट अझ गम्भीर बन्न सक्ने चेतावनीसमेत दिएका छन्।











