२,चैत २०८२
बाँके ।मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको आपूर्तिमा सम्भावित असर पर्न सक्ने आशंकापछि बाँकेमा स्थानीय प्रशासनले पेट्रोल पम्पहरूमा निगरानी बढाउँदै अनुगमन सुरु गरेको छ। सम्भावित अभावको हल्ला फैलिन नदिन र कृत्रिम अभाव रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा संयुक्त टोलीले शनिबार विभिन्न पेट्रोल पम्पहरूको अनुगमन गरेको हो।
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा प्रहरी प्रशासन र नेपाल आयल निगमका प्रतिनिधि सम्मिलित टोलीले जिल्लाभरका पेट्रोल पम्पहरूको मौज्दात तथा भण्डारण अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो। अनुगमनका क्रममा पेट्रोल, डिजेल तथा अन्य पेट्रोलियम पदार्थको उपलब्धता, दैनिक बिक्री तथा आपूर्तिको अवस्थाबारे विस्तृत जानकारी संकलन गरिएको प्रशासनले जनाएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीका अनुसार जिल्लामा रहेका ४१ पेट्रोल पम्पमध्ये शनिबार मात्र ३४ वटा पम्पमा अनुगमन गरिएको छ। बाँकी पम्पहरूमा पनि क्रमशः अनुगमन गरिने उनले जानकारी दिए।
उनका अनुसार पेट्रोलियम पदार्थको मौज्दात अवस्थालाई स्पष्ट रूपमा ट्र्याक गर्न प्रशासनले ‘इन्भेन्टरी मनिटरिङ तथा रेकर्ड किपिङ’ प्रणाली लागू गरेको छ। यस प्रणालीमार्फत प्रत्येक पेट्रोल पम्पमा कति इन्धन मौज्दात छ, कति बिक्री भइरहेको छ र थप कति आपूर्ति आवश्यक छ भन्ने विवरण नियमित रूपमा अभिलेख राखिने व्यवस्था गरिएको उनले बताए।
“इन्भेन्टरी रेकर्ड सुरु गरिएको छ। जिल्लाका सबै पेट्रोल पम्पमा कति इन्धन मौज्दात छ, कति बिक्री भयो र कति थप आवश्यक छ भन्ने विवरण दैनिक रूपमा संकलन गरेर अभिलेख राखिने व्यवस्था गरिएको छ,” सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले भने।
अनुगमन टोलीले प्रत्येक पेट्रोल पम्पबाट उपलब्ध इन्धनको मात्रा, दैनिक बिक्री र आपूर्तिको अवस्थासम्बन्धी तथ्यांक संकलन गरेको छ। यसबाट बजारमा इन्धनको वास्तविक माग र आपूर्तिको अवस्था बुझ्न, आवश्यक समन्वय गर्न तथा अनावश्यक भण्डारण वा कृत्रिम अभाव हुन नदिन सहयोग पुग्ने प्रशासनको विश्वास छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएपछि उपभोक्तामा अभावको त्रास फैलिन सक्ने भन्दै प्रशासनले समयमै निगरानी तीव्र बनाएको हो। प्रशासनका अनुसार बजारमा कुनै पनि किसिमको कृत्रिम अभाव सिर्जना हुन नदिन नियमित अनुगमनलाई निरन्तरता दिइनेछ।
यसैबीच नेपाल आयल निगमले पनि शनिबार विज्ञप्ति जारी गर्दै मुलुकमा पेट्रोलियम पदार्थको आपूर्ति नियमित रूपमा भइरहेको स्पष्ट पारेको छ। निगमले उपभोक्तालाई हल्ला वा त्रासका आधारमा अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ।
एलपी ग्यासबारे निगमको पाँच बुँदे निर्देशन
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेता तथा उपभोक्तालाई आग्रह गरेको छ। निगमका अनुसार हाल आपूर्ति व्यवस्थालाई व्यवस्थित राख्न केही समयका लागि आधा सिलिन्डर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ।
निगमले अर्को व्यवस्था नभएसम्म उद्योगहरूले ७.१ केजी ग्यास ९५५ रुपैयाँमा बिक्री गर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ। यसले बजारमा ग्यासको समान वितरण सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी देशभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा दैनिक बिक्रीको मात्रा हरेक दिन बिहान १० बजेसम्म सार्वजनिक गरी निगमलाई जानकारी गराउन निर्देशन दिइएको छ।
निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न पनि आग्रह गरेको छ। औद्योगिक तथा व्यावसायिक प्रयोगका लागि ग्यास वितरण गर्दा पनि घरायसी उपभोक्ताको आवश्यकतालाई प्राथमिकता दिन भनिएको छ।
“आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई पुनः अनुरोध गर्दछौँ,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।











