सुर्खेत, २६ बैशाख ।
सुर्खेतमा सुकुमबासी समुदाय सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले ‘डोजर आतंक बन्द गर’ भन्दै सरकारको भूमिसम्बन्धी नीति तथा हटाउने अभियानको विरोध गरेका हुन् । शुत्रबार वीरेन्द्रनगरमा भेला भएका सुकुमबासीहरुले आफूहरुलाई वैकल्पिक व्यवस्थाविना हटाउन खोजिएको आरोप लगाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरुले ‘सुकुमबासीलाई बस्न दे’, ‘गरिबमाथि अन्याय बन्द गर’ लगायतका नारा लगाएका छन् । उनीहरुले वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबर्जस्ती हटाउन खोजिएको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् । उचित व्यवस्थापन, लालपुर्जा तथा सुरक्षित बसोबासको ग्यारेन्टी नगरी डोजर प्रयोग गरेर हटाउन खोजिएको भन्दै आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ । प्रदर्शनका क्रममा सुरक्षाकर्मीको उपस्थिति समेत बढाइएको थियो । आन्दोलनरत पक्षले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।










