अतिक्रमित क्षेत्र खाली गराउन कोहलपुर नगरपालिकाद्वारा १६ स्थानमा होल्डिङ सेन्टर व्यवस्थापन

  • नमस्ते कर्णाली

  • बाँके ,२६ बैशाख ।

    बाँकेको कोहलपुर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारहरूको अस्थायी बसाइँ व्यवस्थापनका लागि १६ स्थानमा होल्डिङ सेन्टरको व्यवस्था गरेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा जारी गरिएको सूचनाअनुसार वडा नम्बर ११ स्थित नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र वैशाख २६ गते बिहानदेखि खाली गराइने भएकाले त्यहाँ बसोबास गर्दै आएका नागरिकका लागि अस्थायी बसाइँ व्यवस्थापन गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।

    नगरपालिकाले यसअघि वैशाख १६ गते १० दिने सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गामा बनाइएका अवैध घरटहरा खाली गर्न निर्देशन दिएको थियो । सोही सूचनाको कार्यान्वयनस्वरूप वैशाख २६ गते बिहानदेखि अतिक्रमित क्षेत्र खाली गराइने जनाइएको छ ।

    सूचनामा २०८० भदौ ५ गतेको निर्णयअनुसार सङ्कलन गरिएको पारिवारिक लगत विवरणका आधारमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूको तत्काल बसाइँ व्यवस्थापनका लागि होल्डिङ सेन्टर तयार गरिएको उल्लेख गरिएको छ ।

    नगरपालिकाका अनुसार वडा नम्बर २ को बाल अस्पताल छेउमा रहेको सटर, मुक्ति मावि नजिकको सामुदायिक भवन र वडा कार्यालयनजिक रहेको दलित सङ्ग्रहालयमा होल्डिङ सेन्टर बनाइएको छ । यस्तै वडा नम्बर ३ को मैटहवा सामुदायिक भवन, वडा नम्बर ४ को गोहवा थारू सामुदायिक भवन तथा वडा नम्बर ६ को रझेना थारू सामुदायिक भवनलाई पनि अस्थायी बसोबास केन्द्रका रूपमा प्रयोग गरिने भएको छ ।

    त्यसैगरी वडा नम्बर १० स्थित दीपशिखा मावि एकतानगर, सहकारी सामुदायिक भवन एकतानगर, वडा नम्बर ११ को पुरानो बसपार्कस्थित नगर विकास समितिको भवन, क्रिकेट मैदान स्टेडियमका सटर, नयाँ बसपार्क टर्मिनल भवन, नयाँ बसपार्क बाहिरी क्षेत्रका खाली सटर तथा नगर विकास समितिभित्र रहेका भवनहरूमा समेत होल्डिङ सेन्टर व्यवस्थापन गरिएको छ ।

    वडा नम्बर १२ स्थित वडा कार्यालय नजिकको खाली भवन, दाउना स्वास्थ्य चौकी तथा वडा नम्बर १४ स्थित राम माविको खाली सटरलाई पनि होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका अनुसार कोहलपुर क्रिकेट मैदान आसपासको करिब ३६ बिघा क्षेत्रफलमा अतिक्रमण गरी निर्माण गरिएका घरटहराको लगत सङ्कलनका क्रममा ७५१ घरटहरा रहेको पाइएको छ ।

    नगरपालिकाले सम्बन्धित व्यक्तिहरूलाई वैशाख २५ गते साँझ ७ बजेसम्म स्वयंले घरटहरा हटाउन आग्रह गरेको थियो । तोकिएको समयभित्र संरचना नहटाइएमा वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले प्रचलित कानुनअनुसार डोजर प्रयोग गरेर अतिक्रमित संरचना हटाउने र क्षेत्र पूर्ण रूपमा खाली गराइने जनाएको छ ।

  • २६ बैशाख २०८३, शनिबार ११:०५ प्रकाशित

  • Nabintech