बाँके ,२ जेठ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित जंगल क्षेत्रमा बाख्रा चराउन गएका पाँच जना महिलामाथि अज्ञात समूहले लुटपाट तथा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
शुक्रबार बिहान करिब साढे १० बजेतिर बैशा र नवलपुर गाउँ नजिकको जंगलमा भएको घटनामा ५५ वर्षीया बिसमति थारु, ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारु घाइते भएका हुन्।
घाइते महिलाहरूका अनुसार नेपाली भाषा बोल्ने मधेसी मूलका ३ देखि ४ जनाको समूहले जंगलमा एक्लै रहेको मौका पारेर उनीहरूमाथि आक्रमण गरेको थियो। आक्रमणकारीहरूले महिलाहरूले कान र नाकमा लगाएका डेढ तोलाभन्दा बढी सुनका गहना लुटपाट गर्नुका साथै कुटपिट गरेका थिए।
स्थानीयका अनुसार आक्रमणका क्रममा महिलाहरूका कान र नाक समेत च्यातिएका छन् भने शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइतेमध्ये बिसमति थारुको दुवै हात र रामकलिया थारुको दायाँ खुट्टा भाँचिएको बताइएको छ।
घटनापछि स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल पुर्याएका थिए। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनीहरूलाई नेपालगञ्जस्थित संजिवनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले घटनामा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयाे। पक्राउ परेकाहरूलाई राप्ती सोनारी तथा नरैनापुर आसपासको जंगल क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षाकर्मीसहित ठूलो संख्यामा स्थानीयवासी जंगल क्षेत्रमा परिचालन भएका छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।










