बाँके ,१४ जेठ ।
बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका–७ लाई जोड्ने राप्ती नदीमा बहुप्रतिक्षित झोलुङ्गे पुल निर्माण हुने भएको छ । वर्षौंदेखि डुंगामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासीका लागि यो योजना ठूलो राहतको रूपमा हेरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–७ अन्तर्गत फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका बस्ती तथा डुडुवा गाउँपालिका–१ का बालुपुरुवा, चौफेरी क्षेत्रलाई जोड्ने गरी करिब १५ करोड रुपैयाँ लागतमा ५ सय मिटर लामो मल्टी स्पान सस्पेन्सन झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
पुल अभावमा स्थानीयले लामो समयदेखि राप्ती नदी डुंगाबाट तर्दै आएका छन् । विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढेपछि आवतजावत निकै जोखिमपूर्ण बन्ने गरेको स्थानीय बताउँछन् । कतिपय अवस्थामा नदी तर्ने क्रममा दुर्घटनासमेत हुने गरेको उनीहरूको अनुभव छ ।
स्थानीयवासी हरिराम थारुले पुल निर्माणको प्रक्रिया अघि बढेसँगै आफूहरूमा आशा पलाएको बताए । “वर्षौंदेखि डुंगामा ज्यान जोखिममा राखेर नदी तर्दै आएका छौं । बिरामी परेका बेला झन् ठूलो समस्या हुन्थ्यो । अब पुल बनेपछि बालबालिकादेखि वृद्धसम्मलाई सहज हुने भएको छ,” उनले भने ।
त्यस्तै, स्थानीय महिला सीता चौधरीले पुल निर्माणले शिक्षा, स्वास्थ्य र व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताइन् । “विद्यार्थीलाई विद्यालय जान सजिलो हुन्छ, किसानले उत्पादन बजारसम्म पुर्याउन सहज हुन्छ । वर्षायाममा नदीका कारण गाउँ नै अलग हुने अवस्था अन्त्य हुने अपेक्षा गरेका छौं,” उनले भनिन् ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसी को पहलमा पुल निर्माण प्रक्रिया अघि बढाइएको जनाइएको छ । पुलका लागि आवश्यक प्राविधिक सर्वेक्षणसमेत सम्पन्न भइसकेको छ ।
ललितपुरस्थित सस्पेन्सन पुल विभागबाट इन्जिनियर कैलाश मोक्तान नेतृत्वको प्राविधिक टोलीले विस्तृत सर्वेक्षण गरेको हो । सर्वेक्षण सम्पन्न भएसँगै स्थानीयमा पुल निर्माणप्रति उत्साह थपिएको छ ।
स्थानीयवासीका अनुसार पुल निर्माण सम्पन्न भएपछि दुई पालिकाबीच आवागमन सहज हुनुका साथै विद्यार्थीको शिक्षामा पहुँच बढ्ने, बिरामीलाई समयमा उपचारका लागि अस्पताल पुर्याउन सहज हुने तथा कृषि उत्पादन बजारसम्म ढुवानी गर्न सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयले वर्षौंदेखिको जोखिमपूर्ण डुंगा यात्रा अन्त्य हुने विश्वाससहित पुल निर्माणलाई क्षेत्रीय विकास र जनजीवन सहज बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा लिएका छन् ।









