कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुदै

  • नमस्ते कर्णाली

  • सुर्खेत, २० जेठ ।

    कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ । मंगलबार बेलुका ६ बजे बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । 

    प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार उक्त नीति तथा कार्यक्रम माननीय प्रदेश प्रमुखबाट बुधबार दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत गरिनेछ । त्यस्तै, बैठकले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकासा गर्ने निर्णय पनि गरेको छ ।

    निर्णयअनुसार घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन ४ करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहहरूलाई अख्तियारी प्रदान गरिने छ । प्रदेश सरकारले उक्त रकम सम्बन्धित स्थानीय तहमार्फत वितरण गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई राहत तथा सम्मानस्वरूप जीवन निर्वाहमा सहयोग पुर्‍याउने जनाएको छ ।

  • २० जेष्ठ २०८३, बुधबार १२:०३ प्रकाशित

  • Nabintech