शरद पौडेल कक्षा -११
मायादेवी गाउँपालिका
रुपन्देही
पृथ्वीमा रहेका सम्पूर्ण जैविक प्राणीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वातावरणमा आश्रित छन्। कुनै पनि जीवको जन्मपश्चात् उसलाई बाँच्न, वृद्धि गर्न र आफ्नो जीवनयापन गर्न आवश्यक पर्ने सम्पूर्ण तत्वहरू वातावरणबाट नै प्राप्त हुन्छन्। आजसम्मको वैज्ञानिक अनुसन्धानले यस विशाल ब्रह्माण्डमा अवस्थित असंख्य आकाशगंगामध्ये हाम्रो सौर्यमण्डलको ग्रह पृथ्वीमा मात्र जीवन सम्भव भएको पुष्टि गरेको छ। पृथ्वीमा जीवन सम्भव हुनुको प्रमुख आधार नै यसको अनुकूल वातावरण हो।
पृथ्वीको यही अनुपम वातावरणभित्र लाखौँ प्रजातिका जीवहरूमध्ये मानवले आफूलाई सामाजिक प्राणीका रूपमा विकसित गर्दै वातावरणमा उपलब्ध स्रोत–साधनको उपयोगमार्फत सम्पूर्ण जीवजगतमा सर्वश्रेष्ठ बौद्धिक प्राणीका रूपमा स्थापित गर्न सफल भएको छ। इतिहासलाई नियाल्दा मानव सभ्यताको विकासका सम्पूर्ण आधार यही वातावरणको काखमा निर्माण भएको पाइन्छ। घना वनजङ्गलमा फिरन्ते जीवन बिताउने, भोजनका लागि सिकार गर्ने, बासका लागि गुफा र वस्त्रका लागि रुखका पात प्रयोग गर्ने मानवले वातावरणकै स्रोत–साधनको उपयोग गर्दै सभ्यताको यात्रा प्रारम्भ गर्यो र क्रमशः आधुनिक युगसम्म आइपुग्यो।
आज २१औँ शताब्दीमा मानवले पृथ्वीमा मात्र होइन, अन्तरिक्ष हुँदै अन्य ग्रह, उपग्रह तथा ब्रह्माण्डका टाढाटाढाका क्षेत्रसम्म अनुसन्धान र अन्वेषण गर्न सफलता प्राप्त गरेको छ। वातावरणबाट प्राप्त ज्ञान, स्रोत र सम्भावनाको उपयोग गर्दै मानिसले आफ्नो जीवनलाई सहज र सुविधासम्पन्न बनाएको छ। प्रविधिका असंख्य उपकरणहरूको विकासले आज विश्वलाई एउटा सानो गाउँजस्तै बनाइदिएको छ।
यही वातावरणले दिएको रुखको काठले जाडोमा न्यानोपन प्रदान गर्यो, त्यही रुखले गर्मीमा शीतल छहारी दियो। वर्षा, आँधीबेहरी र विभिन्न प्राकृतिक विपत्तिबाट जोगिन माटो, ढुङ्गा र वनस्पतिहरू उपयोगी बने। जीवन धान्न आवश्यक फलफूल, अन्नबाली र खाद्यान्न यही माटोबाट प्राप्त भए। वातावरणले दिएका यी सम्पूर्ण स्रोतहरू मानव जीवनका लागि वरदान सावित भए।
तर विडम्बना, यही वातावरणको सहारामा आफ्नो सभ्यता निर्माण गरेको मानवले वातावरणलाई आफ्नो अस्तित्वको आधारका रूपमा होइन, केवल उपयोग र स्वार्थ पूर्तिको साधनका रूपमा हेर्न थालेको देखिन्छ। मानवको बढ्दो हस्तक्षेप र बेवास्ताका कारण वातावरण निरन्तर क्षतिग्रस्त हुँदै गएको छ। आज जलवायु परिवर्तन र मौसमीय असन्तुलनका समस्याले मानव मात्र होइन, सम्पूर्ण जीवजगतलाई प्रभावित गरिरहेका छन्।
हिमालका हिउँ तीव्र रूपमा पग्लिरहेका छन्, हिमनदीहरूको जलस्तर बढ्दै जाँदा नदी तटीय क्षेत्रहरू डुबानमा परिरहेका छन् र जनधनको ठूलो क्षति भइरहेको छ। ओजोन तह पातलिँदै जाँदा सूर्यका हानिकारक पराबैंगनी किरणहरू प्रत्यक्ष पृथ्वीमा पुगेर मानवसहित सम्पूर्ण जैविक प्राणीमा नकारात्मक असर पुर्याइरहेका छन्। पृथ्वीको बढ्दो तापक्रमका कारण गर्मीयाम लम्बिँदै गएको छ भने जाडोयाम छोटिँदै गएको छ। यदि यो क्रम निरन्तर जारी रहने हो भने पृथ्वीमा जीवनको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा हुन सक्छ।
आज सडक किनारमा चर्को घामबाट बच्न पर्याप्त रुखहरू छैनन्। मानिसले शीतलताका लागि फ्यान, कुलर र एसीजस्ता उपकरण त विकास गर्यो, तर अक्सिजन, शीतलता र वर्षाको आधार बनेका रुखहरू भने निरन्तर नष्ट गर्दै गयो। सहरीकरणका नाममा वनजङ्गल फडानी भए, मानवका लागि भौतिक संरचनाहरू निर्माण भए, तर अन्य जीवजन्तुको आश्रयस्थल हराउँदै गयो। आज कुनै अतिथिलाई घुमाउन लैजाँदा ठूला भवन, होटल र मानव निर्मित संरचनाहरू देखाइन्छन्, तर प्राकृतिक सौन्दर्य र स्वच्छ वातावरण खोज्न कठिन हुन थालेको छ।
निश्चय नै मानवले विकासको क्षेत्रमा ठूलो फड्को मारेको छ। विज्ञान, प्रविधि र सुविधाका असंख्य साधनहरू उसँग छन्। तर दीर्घकालीन रूपमा भावी पुस्तालाई हस्तान्तरण गर्न सक्ने प्राकृतिक सम्पदा भने दिनप्रतिदिन घट्दै गएको छ। नदी किनारमा आकर्षक रिसोर्टहरू बनेका छन्, तर त्यही नदी प्रदूषित भएको छ। कतिपय स्थानमा रिसोर्ट तथा उद्योगका फोहोरहरू त्यही नदीमा मिसाइएका छन्। मानवले सुविधा विस्तार गरेको छ, तर भविष्यका लागि आवश्यक हरियाली, स्वच्छता र प्राकृतिक सन्तुलनलाई कमजोर बनाउँदै लगेको छ।
यस्तो अवस्था हेर्दा वातावरणले मानव जीवनको शिलान्यास गरिदियो, तर मानवले भने वातावरणको चीरहरण गरिरहेको छ भन्दा अतिशयोक्ति नहोला।
आज वातावरण संरक्षण मानव सभ्यतासामु उभिएको सबैभन्दा ठूलो चुनौती र जिम्मेवारी बनेको छ। यसको संरक्षणका लागि केवल पुस्तकका पानामा सीमित ज्ञान वा औपचारिक कार्यक्रममा घन्काइने नाराहरू पर्याप्त हुँदैनन्। प्रत्येक नागरिक स्वयं सचेत भई आफ्नो दैनिक जीवनमा वातावरणमैत्री व्यवहार अपनाउन अग्रसर हुनुपर्छ।
नियम तथा कानुन निर्माण गर्नु मात्र पर्याप्त हुँदैन; तिनको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक छ। वृक्ष कटानपछि क्षतिपूर्तिका रूपमा वृक्षारोपण गर्नु मात्र होइन, विद्यमान वन तथा रुखहरूको संरक्षण गर्ने संस्कारको विकास हुनुपर्छ। नदी, खोला तथा जलस्रोतमा फोहोर फाल्ने र प्लास्टिकजन्य पदार्थ विसर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कडा नियन्त्रण गर्नुपर्छ।
वातावरणलाई प्रदूषित बनाइरहेका पेट्रोलियम इन्धनमा आधारित सवारीसाधन तथा उपकरणहरूको प्रयोग क्रमशः घटाउँदै स्वच्छ ऊर्जा र वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक छ। दिगो विकास र हरित विकासका अवधारणालाई व्यवहारमा उतार्दै प्रकृति र मानवबीचको सन्तुलन कायम राख्न सकिए मात्र भावी पुस्तालाई स्वच्छ, हराभरा र जीवनदायी पृथ्वी हस्तान्तरण गर्न सम्भव हुनेछ।
प्रकृति मानवको सम्पत्ति मात्र होइन, जीवनको आधार हो। त्यसैले वातावरण संरक्षण विकल्प होइन, हाम्रो साझा कर्तव्य र भविष्यप्रतिको जिम्मेवारी हो।
निष्कर्षतः, यदि वातावरणप्रतिको हाम्रो बेवास्ता, स्वार्थ र असंवेदनशीलताको क्रम यथावत् रहिरहने हो भने भोलिको संसार अझ जटिल, कष्टकर र जीवनविहीन बन्दै जानेछ। आज देखिएका समस्या केवल चेतावनीका संकेत मात्र हुन्। तिनलाई समयमै नबुझ्ने हो भने प्रकृतिले भोलि अझ कठोर मूल्य असुल्न सक्छ।
विकासका नाममा प्रकृतिलाई निरन्तर घाइते बनाउँदै जाने हो भने अन्ततः त्यसको पीडा मानवले नै भोग्नुपर्नेछ। त्यसैले अब समय वातावरणको चीरहरण गर्ने होइन, यसको संरक्षण र पुनर्स्थापनाको शिलान्यास गर्ने हो। संरक्षणलाई नारामा सीमित नराखी व्यवहारमा उतार्ने हो। हरियाली विस्तार गर्ने, प्राकृतिक स्रोतहरूको सम्मान गर्ने र प्रकृतिसँग सहअस्तित्वको सम्बन्ध स्थापित गर्ने हो।
आज हामीले चाल्ने साना–साना जिम्मेवार कदमहरूले नै भोलिको पृथ्वीको स्वरूप निर्धारण गर्नेछन्। आखिर वातावरणको रक्षा गर्नु भनेको केवल प्रकृतिलाई जोगाउनु मात्र होइन, जीवनको निरन्तरता, आशा र भविष्यका सम्भावनाहरूलाई सुरक्षित गर्नु पनि हो। त्यसैले अबको युग वातावरणमाथि विजय हासिल गर्ने होइन, वातावरणसँग सहकार्य गर्दै त्यसको संरक्षणमार्फत समुन्नत भविष्य निर्माण गर्ने युग बन्नुपर्छ।









