बाँके ,११ साउन ।
डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका १९७ वटा वन्यजन्तुको उद्धार गरेको छ। घाइते, टुहुरा, बस्तीमा पसेका तथा विभिन्न कारणले जोखिममा परेका वन्यजन्तुको उद्धार गरी उपचारपछि पुनः प्राकृतिक वासस्थानमा फर्काइएकाले वन्यजन्तु संरक्षणमा सकारात्मक उपलब्धि हासिल भएको कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै १७० वटा सर्प रहेको बताउनुभयो। तीमध्ये ७६ वटा कोब्रा (गोमन), ३६ वटा धामन, १९ वटा करेत, १३ वटा रसेल भाइपर, १० वटा अजिङ्गर, पाँच वटा पानी सर्प र एउटा राजगोमन रहेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार अन्य उद्धार गरिएका वन्यजन्तुमा आठ–आठ वटा गोही र सुनगोहोरो, चार वटा चित्तल, तीन–तीन वटा नीलगाई र हुचिल तथा एक–एक वटा बँदेल, बाँदर, बाज र कालोबिरालो रहेका छन्।
सुशील सुवेदीले घाइते, टुहुरा, बाटो बिराएर बस्तीमा पुगेका वा अन्य कारणले सङ्कटमा परेका वन्यजन्तुको नियमित रूपमा उद्धार गरिँदै आएको जनाउनुभयो। उहाँले उद्धार गरिएका अधिकांश वन्यजन्तुलाई आवश्यक उपचारपछि बाँकेका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पुनःस्थापना गर्ने गरिएको र केहीलाई आवश्यकताअनुसार बाँके राष्ट्रिय निकुञ्ज पठाइने गरिएको बताउनुभयो।
उहाँका अनुसार कार्यालयमै घाइते वन्यजन्तुको उपचार गरिने र पूर्ण रूपमा निको भएपछि मात्रै प्राकृतिक वासस्थानमा छाड्ने व्यवस्था गरिएको छ। आहाराको अभाव, मानव गतिविधिको विस्तार, बाटो बिराएर बस्तीमा पस्नु तथा पानी पिउने क्रममा तालतलैया वा नहरमा फस्नेजस्ता कारणले वन्यजन्तु आफ्नो वासस्थानबाट बाहिरिने गरेको उहाँले भन्नुभयो।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बाँकेमा वन्यजन्तु उद्धारको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा १७, २०७७/७८ मा ३४, २०७८/७९ मा ३१, २०७९/८० मा ४२, २०८०/८१ मा ९९, २०८१/८२ मा १३८ र २०८२/८३ मा १९७ वटा वन्यजन्तुको उद्धार गरिएको छ।
वन्यजन्तु उद्धारको संख्या वर्षेनी बढ्दै जानुले एकातिर वन्यजन्तु संरक्षणमा सरकारी निकायको सक्रियता बढेको देखिए पनि अर्कोतर्फ वन क्षेत्र र मानव बस्तीबीचको द्वन्द्व तथा वन्यजन्तुको वासस्थानमा बढ्दो दबाब पनि चुनौतीका रूपमा रहेको सरोकारवालाहरूको भनाइ छ।









