सरला सुवेदी
बाँके ,२७ जेठ ।
अन्नको भण्डारका रूपमा परिचित बाँकेमा धान रोपाइँको समय नजिकिँदै जाँदा किसानहरू मल, बीउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको दोहोरो मारमा परेका छन्। खेतीको सबैभन्दा महत्वपूर्ण समयमा आवश्यक रासायनिक मल उपलब्ध हुन नसक्दा किसानहरू चिन्तित बनेका छन् भने यसले आगामी धान उत्पादनमा समेत नकारात्मक असर पर्ने संकेत देखिएको छ।
धान खेतीको मुख्य सिजन सुरु भएसँगै किसानहरू खेतबारीमा व्यस्त हुन थालेका छन्। तर रोपाइँका लागि अत्यावश्यक युरिया, डीएपी र पोटास मल सहज रूपमा नपाउँदा खेतीको तयारी प्रभावित बनेको छ। मल अभावका कारण धेरै किसान भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा निगरानी र कडाइ बढाइएकाले त्यहाँबाट समेत मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ।
वर्षभरिको खाद्यान्न उत्पादनको आधार मानिने धान खेतीका लागि मलको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समयमा मल नपाउँदा बिरुवाको वृद्धि कमजोर हुने, उत्पादन क्षमता घट्ने र रोगको जोखिम बढ्ने कृषि प्राविधिकहरू बताउँछन्। पर्याप्त मलको अभावले धानको बाला राम्रोसँग नलाग्ने, दाना कम लाग्ने तथा प्रतिहेक्टर उत्पादनमा उल्लेख्य गिरावट आउने जोखिम रहने भएकाले किसानहरू चिन्तित बनेका हुन्।
खजुराकी कृषक अनिता शर्माले धान रोपाइँको तयारी भइरहेका बेला मल अभावले ठूलो समस्या सिर्जना गरेको बताउनुभयो। समयमै मल नपाए उत्पादन घट्ने र वर्षभरिको मेहनत खेर जाने चिन्ता रहेको उहाँको भनाइ छ।
मल अभावसँगै खेतीको लागत पनि निरन्तर बढिरहेको किसानहरूले बताएका छन्। विशेषगरी डिजेलको मूल्यवृद्धिले खेत जोत्न प्रयोग हुने ट्याक्टरको भाडा महँगिएको छ। सिँचाइ, जोताइ तथा अन्य कृषि कार्यमा लाग्ने खर्च बढ्दै जाँदा किसानको लगानी क्षमता कमजोर बन्दै गएको छ। किसानहरूले कृषि क्षेत्रमा विशेष राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
बाँकेमा करिब ५३ हजार ८२६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जका अनुसार जिल्लामा वार्षिक रूपमा करिब ७ हजार मेट्रिक टन युरिया, ४ हजार मेट्रिक टन डीएपी र २ हजार मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकताभन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ।
कार्यालयका अनुसार हाल जिल्लामा ४ हजार ७ सय ५३ मेट्रिक टन युरिया, २ हजार ६ सय ८२ मेट्रिक टन डीएपी र २ सय १५ मेट्रिक टन पोटास मात्र उपलब्ध छ। आवश्यकताअनुसार मल आपूर्ति हुन नसक्दा किसानको माग पूरा गर्न कठिन भएको जनाइएको छ।
कृषक सियाराम बर्माले स्वदेशमै पर्याप्त मल नपाएपछि भारतबाट ल्याउने प्रयास गरे पनि सीमामा कडाइ बढेकाले त्यो विकल्प पनि सहज नरहेको बताउनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष खेतीको मुख्य समयमा मल अभाव दोहोरिने समस्याले किसानहरूलाई निरन्तर पीडा दिँदै आएको छ।
यता कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जका प्रबन्धक पुष्पराज श्रेष्ठले केन्द्रबाट पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा वितरणमा समस्या देखिएको बताउनुभयो। उपलब्ध मललाई प्राथमिकताका आधारमा वितरण गरिए पनि मागअनुसार उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ।
धान उत्पादनको प्रमुख केन्द्रका रूपमा रहेको बाँकेमा रोपाइँकै समयमा मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। वर्षौँदेखि दोहोरिँदै आएको यो समस्या समाधानका लागि सरकारले समयमै मल, बीउ तथा कृषि सामग्रीको सुनिश्चित आपूर्ति व्यवस्था गर्नुपर्ने माग किसानहरूले गरेका छन्। अन्यथा उत्पादन घट्दा किसानको आम्दानीमा मात्रै होइन, जिल्लाको खाद्यान्न उत्पादन र खाद्य सुरक्षामै समेत प्रतिकूल असर पर्ने देखिन्छ।









