सुर्खेत, २७ जेठ ।
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका कृषि बजार व्यवस्थापन समितिबीच अन्तर–प्रदेशीय कृषि बजार समन्वय तथा कृषि वस्तुको बजारीकरणमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । वीरेन्द्रनगरमा आयोजित अन्तर–प्रदेशीय कृषि बजार समन्वय कार्यक्रममा कृषि बजार व्यवस्थापन समिति वीरेन्द्रनगर (सुर्खेत), कृषि बजार कोहलपुर (बाँके) र कृषि बजार अत्तरिया (कैलाली) बीच बजार सूचना आदान–प्रदान तथा कृषि उत्पादनको बजारीकरणमा सहकार्य गर्ने सहमति भएको हो ।
सम्झौताअनुसार तीनवटै कृषि बजारले माग, आपूर्ति तथा मूल्य प्रवृत्तिसम्बन्धी सूचना नियमित रूपमा आदान–प्रदान गर्नेछन् । दैनिक तथा साप्ताहिक थोक मूल्यसम्बन्धी जानकारी विद्युतीय माध्यममार्फत उपलब्ध गराइने व्यवस्था समेत गरिनेछ । यसबाट अन्तर–प्रदेशीय कृषि व्यापार विस्तार, उत्पादक र व्यापारीबीच व्यावसायिक सम्बन्ध विकास तथा कृषि उत्पादनको बजार पहुँच बढ्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा कृषि उत्पादन, बजार व्यवस्थापन तथा सफल अभ्यासका अनुभव आदान–प्रदान गर्ने, कर्मचारीको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने तथा मौसमी कृषि उत्पादनको आपूर्ति शृङ्खला सन्तुलित बनाउन आवश्यक समन्वय गर्ने विषय समेटिएका छन् । साथै रसायनरहित स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, कृषि मेला तथा प्रदर्शनीमा सहभागिता वृद्धि, बजारमा माग बढेका बेला वस्तुको उपलब्धता सुनिश्चित गर्न आपसी सहयोग तथा किसान समूह र सहकारीलाई उत्पादन बजारीकरणमा प्रोत्साहन गर्ने सहमति पनि गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले किसानले उत्पादन बढाए पनि बजार अभावका कारण उचित मूल्य पाउन नसकेको गुनासो गरेका थिए । कृति देवल कृषि सहकारी संस्थाका व्यवस्थापक रोहितकुमार भण्डारीले उत्पादन वृद्धि भए पनि बजार विस्तार हुन नसक्दा किसानले लागत मूल्यसमेत उठाउन कठिनाइ भोगिरहेको बताए ।
चगत्रा साना किसान सहकारी संस्थाका अध्यक्ष मोतिराम अधिकारीले बजारसँग सम्झौता भए पनि मूल्य नमिल्दा उत्पादन बिक्री गर्न समस्या भइरहेको उल्लेख गरे । कृषि बजार कोहलपुर बाँकेकी सदस्य जानकी पुनले विषादीमुक्त तरकारी उत्पादनमा जोड दिँदै स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउन बजार व्यवस्थापन समितिको प्रतिबद्धता रहेको बताइन् । कृषि बजार कोहलपुरका अध्यक्ष उदीराम वलीले उपभोक्ताको माग र बजार व्यवस्थापनबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे ।
कृषि बजार अत्तरिया कैलालीका अध्यक्ष डिल्लीराज जोशीले कृषि क्षेत्रले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै तीन प्रदेशका कृषि बजारबीचको सहकार्यले अनुभव आदान–प्रदान र सम्बन्ध विस्तारमा टेवा पुग्ने बताए । कार्यक्रमका अध्यक्ष तथा कृषि बजार व्यवस्थापन समिति वीरेन्द्रनगर सुर्खेतका अध्यक्ष टोपेन्द्रजंग शाहीले किसानले उत्पादन बिक्री गर्न अझै विभिन्न समस्या भोगिरहेको भन्दै उत्पादनको लागत मूल्य निर्धारण र बजार सुनिश्चिततामा विशेष ध्यान दिनुपर्ने बताए ।
उनले विषादी प्रयोगसम्बन्धी मापदण्ड पालना गर्न किसानलाई सचेत गराउनुपर्ने आवश्यकता रहेको बताए । सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि प्रत्येक संस्थाबाट अध्यक्ष, सदस्य र बजार व्यवस्थापकसहित ६ सदस्यीय समिति गठन गरिने भएको छ । समितिको बैठक त्रैमासिक रूपमा बस्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।
उक्त कार्यक्रम नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहल ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठनको पहलमा सेवक नेपालको कार्यान्वयन साझेदारी तथा सुर्खेत कृषि बजार व्यवस्थापन समितिको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भएको सम्झौता २०८३ साल जेठ २५ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ ।
आवश्यकताअनुसार सम्बन्धित पक्षहरूको सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ । सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समिति वीरेन्द्रनगर सुर्खेतका अध्यक्ष टोपेन्द्रजंग शाही, कृषि बजार अत्तरिया कैलालीका अध्यक्ष डिल्लीराज जोशी तथा कृषि बजार कोहलपुर बाँकेका अध्यक्ष उदीराम वलीले हस्ताक्षर गरेका छन, भने कृषकको क्षमता अभिवृदि (लाभलागत सम्बन्धी) तालिमहरु सञ्चालन गर्ने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।









