पत्रकार महासंघ सुर्खेतद्वारा १० पत्रकार पुरस्कृत

  • नमस्ते कर्णाली

  • सुर्खेत, १ जेठ। 

    नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले १० जना पत्रकारलाई विभिन्न विद्याका पत्रकारिता पुरस्कार प्रदान गरेको छ । आइतबार महासंघले पत्रकारिताका माध्यमबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अग्रज तथा क्रियाशील पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 

    साथै, यस वर्ष विशेष सम्मानबाट जुनकीरी पत्रिकाका सम्पादक जनकराज शर्मा सम्मानित भएका छन् । सुर्खेतमा शर्माको सम्पादकत्वमा २०२७ सालमा पहिलो पटक जुनकिरी पत्रिका प्रकाशन भएको थियो । यो नै सुर्खेतमा पत्रकारिताको पहिलो इतिहास मानिन्छ । त्यस्तै, प्रेस स्वतन्त्रता सम्मानबाट वरिष्ठ पत्रकार दुर्गा थापा, माया थापा र डम्बर आचार्य सम्मानित भएका छन् । 

    यस वर्षको वर्ष पत्रकारिता पुरस्कार कर्मसञ्चार डटकमका सम्पादक ईश्वर अधिकारीलाई प्रदान गरिएको छ भने विकास तथा शान्ति पत्रकारिता पुरस्कारबाट रेडियो नेपालकी करिश्मा चौधरी र हिमालय टेलिभिजनका रमेशकुमार पाण्डे पुरस्कृत भएका छन् । 

    त्यस्तै, क्रियाशील पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका तृप्ति शाही, खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कार बाह्रखरी डटकमका विवशकुमार सेजुवाल, युवा पत्रकारिता पुरस्कार रेडियो भेरीका टेकराज केसी र नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिमा कार्यरत सुरेश आचार्यलाई प्रदान गएिको छ । 

    उनीहरुलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । सम्मान तथा पुरस्कारले पत्रकारिताको व्यावसायिकता, उत्तरदायित्व र सिर्जनशीलतालाई थप प्रोत्साहन गर्ने विश्वास महासंघको छ । यस्तै, महासंघले सुर्खेतको पत्रकारिताको इतिहास समेटिएको पुस्तकसमेत विमोचन गरेको छ । 

    सुर्खेतमा पत्रकारिताको सुरुवातदेखि हालसम्मको इतिहासलाई एकिकृत गरी दस्तावेजिकरण गर्न महासंघले सुर्खेतको पत्रकारिता नामक पुस्तक सार्वजनिक गरेको हो । उक्त पुस्तकको विमोचन मुख्यमन्त्री कँडेलले गरेका थिए । सुर्खेती पत्रकारिताको इतिहासका बारेमा अध्ययन र अनुसन्धान गर्न चाहनेहरुका लागि पुस्तक उपयोगी हुने महासंघले जनाएको छ । 

    त्यस्तै, महासंघको अध्यक्ष, सहसचिव र एक सदस्यको पदसमेत हस्तान्तरण भएको । पत्रकार महासंघको निर्वाचनमा बराबरी मत प्राप्त गरी आधाआधा कार्यकालको नेतृत्व गर्ने सहमती अनुसार पहिलो कार्यकालका अध्यक्ष सुशीलराज शर्माले मधुवन विसीलाई पद हस्तान्तरण गरेका हुन् । यस्तै, पहिलो कार्यकालका सहसचिव नविनकुमार सुवेदीले गीता थापालाई पद हस्तान्तरण गरे । सदस्यमा बराबरी मत पाएका अमर कार्कीले मानबहादुर खड्कालाई पद हस्तारन्तरण गरको थिए ।   

  • १ असार २०८३, सोमबार ०८:१७ प्रकाशित

  • Nabintech