सुर्खेत ,१६ असार ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले आयोजना गरेको स्थानीय तहमा सुशासन प्रवद्र्धन र विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, सञ्चार माध्यमले भोगिरहेका चुनौती र पत्रकार र पत्रकारिताको समग्र विकासका सन्दर्भमा नगरपालिका सधै अग्रणी भूमिकामा रहेको उनको भनाइ छ । लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि सञ्चार क्षेत्र अपरिहार्य भएको भन्दै उनले आगामी दिनमा पनि सत्यतथ्यमा रहेमा कलम चलाउन आग्रह गरिन । ‘नागरिकलाई सशक्त बनाउने, शासन प्रणालीलाई जवाफदेही बनाउने र राज्यको गतिविधिलाई जनतासामु पारदर्शी बनाउने काम मिडियाबाट मात्र सम्भव हुन्छ, उनले भनिन, ‘नगरपालिकाले मिडिया क्षेत्रको सुदृढीकरण, पत्रकार सुरक्षाको प्रत्याभूति र सञ्चार माध्यमको प्रवर्धनसम्बन्धी नीतिगत तथा कार्यक्रमगत व्यवस्थालाई थप व्यवस्थीत बनाइनेछ’ , नगरप्रमुख ढकालको भनाइ छ । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले पत्रकारले दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोडने काम गरिरहेकाले उनीहरूको आर्थिक, सामाजिक सुरक्षामा स्थानीय सरकारले विशेष प्याकेज ल्याउन आवस्यक भएको बताए । ‘स्थानीय सरकारले पत्रकारको सीप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय सञ्चार संस्थाको दिगोपनाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक छ, उनले भने । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य याम शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मिडिया हाउसहरूको सुदृढीकरणका लागि स्थानीय सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनु पर्नेमा जोड दिए । ‘सञ्चारका नयाँ प्रविधिमा लगानी, पत्रकारलाई तालिम, अनुसन्धान र सामग्री विकासमा सहयोग पु¥याउने नीति आवश्यक छ, शर्माले भने, ‘नगरपालिकाले सरकारले पत्रकार महासंघसँग सहकार्य गर्दै सञ्चार क्षेत्रलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्छ ।’प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मुना हमालले पत्रकारिता क्षेत्रको विकासका लागि तीनतहका सरकार गम्भीर हुनुपर्ने बताइन् । संघीय सरकारले गरेको पछिल्लो निर्णयले मिडिया क्षेत्र नै अन्योलमा भइरहेको अवस्थामा प्रदेश र स्थानीय सरकारले विशेष जोड दिने खालका कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा उनको सुझाव रहेको छ । कार्यक्रममा सुर्खेतमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । उनीहरुले तीनतहकै सरकार मिडियामैत्री बन्नुपर्नेमा जोड दिएका थिए । संघीय सरकारले गरेको मिडिया विरोधी निर्णय तत्काल खारेज गर्नुपर्ने उनहिरुको जोड रहेको थियो ।









