मुगु- प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हो भन्ने मूल नारासहित मुगुमा नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठनार्थ अन्तर्क्रियात्मक भेला सम्पन्न भएको छ।
शनिबार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा जिल्लामा स्वयंसेवी रक्तदान अभियानलाई प्रभावकारी बनाउने, नियमित रक्तदाता उत्पादन गर्ने तथा आवश्यक पर्दा सहज रूपमा रगत उपलब्ध गराउने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थिति रहेको थियो। सोही अवसरमा उहाँले आफ्नो १८७ औँ नियमित रक्तदान सम्पन्न गर्दै रक्तदान अभियानप्रति सबैलाई प्रेरित गर्नुभएको थियो।

कार्यक्रमका वक्ताहरूले मुगुजस्तो दुर्गम जिल्लामा रगतको अभावका कारण बिरामीहरूले सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गर्न स्वयंसेवी रक्तदान अभियानलाई संस्थागत रूपमा विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
बलिराज बुढाको नेतृत्वमा जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा गठन गरियको छ। रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि हुने, नियमित रक्तदाता उत्पादन हुने तथा आकस्मिक अवस्थामा बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहज हुने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा समन्वय प्रमुख मन्जन कार्कि,प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री लगायत विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार,नागरिक समाज, सामाजिक अभियन्ता, युवा तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर स्वयंसेवी रक्तदान अभियानलाई विस्तार गर्दै सुरक्षित र पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यका साथ विभिन्न जिल्लामा शाखा विस्तारलाई तीव्रता दिँदै आएको जनाएको छ।










