जनशक्ति अभाव र रेडियशन मेसिन बन्द हुँदा खजुरा क्यान्सर अस्पताल संकटमा, हजारौँ बिरामी महँगो उपचारका लागि बाहिर जान बाध्य

  • नमस्ते कर्णाली

  • बाँके ,२२ असार ।
    पश्चिम नेपालको एकमात्र विशिष्टीकृत क्यान्सर उपचार केन्द्र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा जनशक्ति अभाव र अत्याधुनिक रेडियशन मेसिन लामो समयदेखि बन्द हुँदा गम्भीर सेवा संकटमा परेको छ। यसको प्रत्यक्ष असर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौँ क्यान्सर बिरामीमा परेको छ। उपचारका लागि टाढा जानुपर्ने, अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने र समयमै उपचार नपाउँदा बिरामी तथा उनका परिवारले ठूलो सास्ती खेपिरहेका छन्।
    अस्पतालले २०७९ सालमा गरेको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणले एक सय शय्याको अस्पताल प्रभावकारी रूपमा सञ्चालन गर्न ५६ जना विशेषज्ञ चिकित्सकसहित ४०९ जनाको जनशक्ति आवश्यक पर्ने उल्लेख गरेको थियो। तर उक्त प्रतिवेदन अझैसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत हुन नसक्दा आवश्यक दरबन्दी सिर्जना हुन सकेको छैन।
    हाल अस्पतालमा १४ जना विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन्, ती सबै करार सेवामा छन्। सरकारले अस्थायी रूपमा १२९ जनाको दरबन्दी स्वीकृत गरे पनि अहिले १०२ जना मात्रै कार्यरत छन्। नियमित सेवा सञ्चालन गर्न अस्पतालले थप ४४ जना कर्मचारी ज्यालादारीमा राख्नुपरेको छ।
    अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईका अनुसार आवश्यक जनशक्ति नहुँदा सेवा विस्तार मात्र होइन, सञ्चालनमा रहेका सेवासमेत प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ।
    अस्पतालले वार्षिक करिब ३० हजार बिरामीलाई सेवा दिँदै आएको भए पनि जनशक्ति अभावका कारण धेरै विभाग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। प्यालिएटिभ केयर, हेमाटो अंकोलोजी, साइकियाट्री तथा काउन्सिलिङ, न्युट्रिशनलगायतका अत्यावश्यक सेवासमेत अझै सुरु हुन सकेका छैनन्। यी सेवा नहुँदा क्यान्सर बिरामीले आवश्यक परामर्श, मानसिक स्वास्थ्य सहयोग, पोषण सेवा तथा विशेष उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ।
    यस्तै, करिब २७ करोड रुपैयाँ लागतको अत्याधुनिक लिन्याक (LINAC) रेडियशन मेसिन वैशाख महिनादेखि बन्द भएपछि रेडियशन सेवा पूर्ण रूपमा प्रभावित भएको छ। यसअघि दैनिक २५ देखि ४५ जना बिरामीले यही अस्पतालबाट रेडियशन उपचार लिने गरेका थिए। अहिले भने उनीहरूलाई चितवन, काठमाडौं वा भारतका अस्पतालमा रेफर गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
    यसले विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई थप मर्कामा पारेको छ। उपचारसँगै यात्रा, बसोबास र खानपानको अतिरिक्त खर्च व्यहोर्नुपर्ने भएकाले धेरै परिवार आर्थिक संकटमा परेका छन् भने केही बिरामी समयमै उपचार नपाएर थप जोखिममा पर्ने अवस्था देखिएको छ।
    अस्पताल प्रशासनका अनुसार मेसिन खरिदसम्बन्धी भुक्तानी विवादका कारण ४० प्रतिशत रकम रोकिएपछि आयातकर्ता कम्पनीले मेसिन पुनः सञ्चालनमा चासो नदेखाउँदा रेडियशन सेवा अवरुद्ध भएको हो।
    कार्यकारी निर्देशक डा. भट्टराईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी मेसिन पुनः सञ्चालन र आवश्यक जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो।
    पश्चिम नेपालका क्यान्सर बिरामीका लागि आशाको केन्द्र मानिएको यस अस्पतालमा जनशक्ति अभाव र उपकरण सञ्चालनमा आएको अवरोध तत्काल समाधान हुन नसके उपचार सेवामा थप जटिलता आउने र हजारौँ बिरामीको जीवन प्रत्यक्ष प्रभावित हुने चिन्ता बढ्दै गएको छ।

  • २२ असार २०८३, सोमबार १३:२३ प्रकाशित

  • Nabintech