बाँके राष्ट्रिय निकुञ्जमा हात्ती पूजा, मानव–हात्ती सहअस्तित्वको कामना

  • नमस्ते कर्णाली

  • बाँके ,२३ असार ।
    मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम राख्ने तथा जैविक विविधता संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जमा परम्पराअनुसार यस वर्ष पनि हात्ती पूजा गरिएको छ।
    प्रत्येक वर्ष असार महिनामा गरिने यस परम्पराअनुसार आइतबार निकुञ्जको हातिसारमा रहेका ६ वटा हात्तीलाई विधिपूर्वक पूजा गरी सम्मान गरिएको हो। वन तथा वातावरणसँग सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधि, निकुञ्जका कर्मचारी, माउते तथा संरक्षणकर्मीको सहभागितामा सम्पन्न पूजामा वन्यजन्तुले मानव बस्तीमा हानी–नोक्सानी नपुर्‍याओस् र मानव–हात्तीबीचको सहअस्तित्व थप सुदृढ बनोस् भन्ने कामना गरिएको थियो।
    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कडेलले तराईका राष्ट्रिय निकुञ्जहरूमा हात्तीलाई वन्यजन्तु संरक्षण, नियमित गस्ती, उद्धार तथा व्यवस्थापनका महत्वपूर्ण कार्यमा प्रयोग गरिँदै आएको बताउनुभयो संरक्षण अभियानमा निरन्तर योगदान दिँदै आएका हात्तीप्रति सम्मान प्रकट गर्न हरेक वर्ष परम्पराअनुसार पूजा गर्ने गरिएको उहाँले जानकारी दिनुभयो।
    पूजापछि हात्तीहरूलाई सिंगारपटार गरी उनीहरूको मनपर्ने उखु, केरा, बन्दागोभी, काँक्रो लगायतका खानेकुरा खुवाउने गरिन्छ। यसले संरक्षणमा खटिने हात्तीप्रति सम्मान र आत्मीयता व्यक्त गर्ने परम्परालाई निरन्तरता दिएको निकुञ्जको भनाइ छ।
    निकुञ्जका अनुसार हात्ती पूजाले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। विशेषगरी निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासीले असारे पूजापछि हात्तीले अन्नबालीमा कम क्षति पुर्‍याउने जनविश्वास राख्दै आएका छन्।
    हात्तिसार केन्द्र बुच्चापुरका माउते शालिकराम यादवले हात्ती र माउते दुवैको सुरक्षा, दीर्घायु तथा सफल संरक्षण कार्यको कामनासहित यो पूजा निरन्तर गर्दै आइएको बताउनुभयो। उहाँले अनुसार हात्तीले माउतेलाई कुनै हानि–नोक्सानी नगरोस् र संरक्षण कार्यमा सहज रूपमा सहयोग गरिरहोस् भन्ने धार्मिक तथा सांस्कृतिक विश्वासका साथ यो परम्परा जोगाइँदै आएको हो।
    हात्ती पूजा धार्मिक आस्था र परम्परामा मात्र सीमित नभई प्रकृति संरक्षण, जैविक विविधताको संवर्द्धन तथा मानव–वन्यजन्तुबीचको सन्तुलित सम्बन्ध कायम राख्ने सन्देश बोकेको सांस्कृतिक अभ्यासका रूपमा स्थापित हुँदै गएको छ। संरक्षणका चुनौती बढिरहेका बेला यस्ता गतिविधिले वन्यजन्तुप्रति सम्मान, संरक्षणप्रतिको जिम्मेवारी र सहअस्तित्वको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

  • २३ असार २०८३, मंगलवार ०८:२७ प्रकाशित

  • Nabintech