मुगु- मुगुको खत्याड गाउँपालिकाको बहुप्रतीक्षित प्रशासनिक भवन निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। करिब ६ करोड ९१ लाख ९७ हजार ३६१ रुपैयाँ ३३ पैसा लागतमा निर्माण भइरहेको भवन २०८४ साल भदौ ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
खत्याड गाउँपालिका र DCS-नागार्जुन-तीर्थ जेभी बीच २०८२ फागुन ११ गते निर्माण सम्झौता भएको थियो। सम्झौता अनुसार गाउँपालिकाको स्थायी तथा आधुनिक प्रशासनिक भवन निर्माणको जिम्मा उक्त निर्माण कम्पनीले पाएको हो।
निर्माण सम्पन्न भएपछि हाल विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका गाउँपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एउटै भवनबाट प्रवाह हुनेछन्। यसले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै कर्मचारीका लागि व्यवस्थित र सुविधा सम्पन्न कार्य वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाही ले प्रशासनिक भवन गाउँपालिकाको दीर्घकालीन आवश्यकता र गौरवको आयोजना भएको बताउँदै गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै निर्माण सम्पन्न गरिने विश्वास व्यक्त गरे।
उनले भने, यो भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र सेवाग्राही मैत्री हुनेछ। समयमै गुणस्तरीय निर्माण सम्पन्न गराउन गाउँपालिकाले नियमित अनुगमन गरिरहेको छ।”
भवनको डिजाइन आधुनिक प्रशासनिक संरचना अनुसार तयार गरिएको छ। भवनमा पर्याप्त कार्यालय कक्ष, सभा हल, सेवाग्राही प्रतीक्षालय तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ भने भविष्यमा सेवा विस्तारलाई समेत ध्यानमा राखेर निर्माण भइरहेको छ।
निर्माण कार्यको प्राविधिक अनुगमन गरिरहेका इन्जिनियर महेश महता ले भवन स्वीकृत डिजाइन, स्टिमेट तथा प्राविधिक मापदण्ड अनुसार निर्माण भइरहेको जानकारी दिए।
उनले भने, हालसम्मको निर्माण कार्य सम्झौता, स्वीकृत डिजाइन र स्टिमेट अनुसार अघि बढिरहेको छ। निर्माण सामग्रीको गुणस्तर, संरचनागत सुरक्षा तथा प्राविधिक मापदण्डको नियमित परीक्षण र अनुगमन भइरहेको छ। निर्माण कम्पनीलाई तोकिएको समयसीमा भित्र गुणस्तरीय भवन सम्पन्न गर्न आवश्यक प्राविधिक निर्देशनसमेत दिइएको छ।
हाल भवनको संरचनागत निर्माण कार्य तीव्र गतिमा भइरहेको र सम्झौता अनुसार तोकिएको समय सीमाभित्र गुणस्तरीय भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाइएको छ।









