कृषि यान्त्रीकरणको प्रभाव : लुम्बिनीका गाउँबाट हराउँदै गोरु–राँगा, संकटमा परम्परागत पशुपालन संस्कृति

  • नमस्ते कर्णाली

  • रोल्पा ,३० असार ।

    कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग तीव्र रूपमा बढेसँगै रोल्पासहित लुम्बिनी प्रदेशका पहाडी तथा भित्री मधेशका १२ जिल्लामा खेतबारी जोत्न प्रयोग हुने गोरु–राँगा बिस्तारै विस्थापित हुन थालेका छन्। आधुनिक कृषि उपकरणको बढ्दो प्रयोगले खेतीपाती सहज र छिटो बने पनि परम्परागत पशुपालन संस्कृति भने क्रमशः ओझेलमा पर्दै गएको छ।
    केही वर्षअघिसम्म अधिकांश किसानका घरमा खेत जोत्न कम्तीमा एक हल गोरु वा राँगा पाल्ने चलन सामान्य थियो। तर अहिले ट्याक्टर, मिनीटिलर, पावर टिलर, थ्रेसरलगायत आधुनिक कृषि उपकरणको प्रयोग बढेपछि गोरु–राँगाको आवश्यकता उल्लेखनीय रूपमा घटेको छ।
    स्थानीय किसानका अनुसार आधुनिक उपकरणबाट कम समय, कम श्रम र तुलनात्मक रूपमा कम लागतमा खेतबारी जोत्न तथा खेतीका अन्य काम गर्न सकिने भएकाले किसानको रोजाइ यान्त्रिक प्रविधितर्फ बढेको हो।
    बर्खे मौसममा धान र मकै तथा हिउँदे मौसममा गहुँ, जौ, तोरी, मसुरोलगायतका बाली लगाउन खेत जोत्नेदेखि दाइँ गर्ने र तरकारी खेतीसम्मका अधिकांश काम अहिले आधुनिक उपकरणबाट हुन थालेका छन्। यसको प्रत्यक्ष असर गोरु पाल्ने किसानको संख्यामा परेको छ। पहिले गाउँ–गाउँमा सहजै देखिने गोरु र राँगा अहिले सीमित किसानका गोठ र खेतबारीमा मात्र भेटिन थालेका छन्।
    यान्त्रीकरणले खेतीलाई आधुनिक, छिटो र प्रभावकारी बनाउँदै श्रम अभावको समस्या समाधान गर्न सहयोग पुर्‍याएको छ। यसले उत्पादन लागत व्यवस्थापनमा पनि सकारात्मक योगदान दिएको किसानहरू बताउँछन्। तर यसको अर्को पाटो भने परम्परागत पशुपालन संस्कृति र स्थानीय काठे गोरुको संरक्षणमा चुनौती थपिनु हो।
    विशेषगरी स्थानीय जातका गोरु तथा राँगाको संख्या घट्दै जाँदा तिनको संरक्षण, प्रजनन तथा जैविक विविधता जोगाउने विषयमा चिन्ता बढ्न थालेको छ। गोरु पाल्ने चलन हराउँदै जाँदा गोठ व्यवस्थापन, जैविक मल उत्पादन र पशुपालनसँग जोडिएका परम्परागत ज्ञान तथा अभ्याससमेत लोप हुने जोखिम बढेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।
    कृषि आधुनिकीकरण आजको आवश्यकता भए पनि त्यससँगै स्थानीय काठे गोरुको संरक्षण, पशुपालन प्रवर्द्धन तथा जैविक खेतीसँग जोडिएका परम्परागत अभ्यासलाई पनि समान प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको छ। आधुनिक प्रविधि र परम्परागत कृषि प्रणालीबीच सन्तुलन कायम गर्न सके मात्रै उत्पादन वृद्धि, जैविक विविधताको संरक्षण र दिगो कृषि विकासलाई सँगसँगै अघि बढाउन सकिने विज्ञहरूको धारणा छ।

  • ३० असार २०८३, मंगलवार ११:०३ प्रकाशित

  • Nabintech