जेन–जी आन्दोलन र अन्तर्राष्ट्रिय परिस्थितिको असर : बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक घटे, राजस्व भने ३ करोड २६ लाख

  • नमस्ते कर्णाली

  • बर्दिया ,४ साउन ।

    गत आर्थिक वर्ष २०८२/८३ मा बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। निकुञ्ज प्रशासनका अनुसार पर्यटक आगमनमा कमी आए पनि प्रवेश शुल्कबाट ३ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
    निकुञ्जले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल २८ हजार ६८ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। आर्थिक वर्ष २०८२/८३ मा भने यो संख्या घटेर २७ हजार २५ पुगेको छ। यसमध्ये १८ हजार ९०७ जना नेपाली, ६ हजार ९०१ जना विदेशी तथा १ हजार २१७ जना सार्क मुलुकका पर्यटक रहेका छन्।
    निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण पर्यटकको आवागमन प्रभावित भएको बताउनुभएको छ। उहाँले पश्चिम एसियामा जारी युद्धका कारण पनि विदेशी पर्यटकको नेपाल भ्रमणमा असर परेको जनाउनुभएको छ।
    उहाँका अनुसार आन्दोलन र अन्तर्राष्ट्रिय अस्थिरताले पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर पारेकाले अघिल्लो वर्षको तुलनामा पर्यटक संख्या केही घटेको हो।
    तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक कात्तिक महिनामा आएका थिए। कात्तिकमा ४ हजार ८५१ जना र चैत महिनामा ४ हजार ७३९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। असार महिनामा भने वर्षायामका कारण पर्यटक आगमन न्यून भई २९४ जनामा सीमित भएको निकुञ्जले जनाएको छ।
    नेपालमै पाटेबाघ अवलोकनका लागि उत्कृष्ट गन्तव्यका रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्जमा बाघसँगै एकसिंगे गैंडा, जंगली हात्ती, बाह्रसिंगा, चित्तल, नीलगाई, घडियाल गोही तथा सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहने गरेको छ।
    पर्यटन व्यवसायी रामजी थापाले बाघ प्रत्यक्ष हेर्ने सम्भावना बढी हुने भएकाले धेरै पर्यटक बर्दिया आउने गरेको बताउनुभएको छ। उहाँले निकुञ्जभित्रको बबई उपत्यका, कर्णाली चिसापानी पुल, गोही प्रजनन केन्द्र, हात्तीसार, र्‍याफ्टिङ, फिसिङ, जिप सफारी तथा जंगल वाकजस्ता गतिविधिले पर्यटकलाई थप आकर्षित गर्ने गरेको जनाउनुभएको छ।
    अन्य राष्ट्रिय निकुञ्जमा वर्षायाम सुरु भएपछि जंगल सफारी बन्द गरिने भए पनि बर्दिया राष्ट्रिय निकुञ्जमा भने यस वर्ष जिप सफारी सञ्चालनमै रहेको छ। निकुञ्जका प्रमुख अशोक रामले हालसम्म वर्षाका कारण सडक अवरुद्ध नभएकाले जिप सफारी बन्द गर्न नपरेको बताउनुभएको छ।
    बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार ठाकुरद्वारामा रहेको छ। रम्मापुर दोस्रो प्रवेशद्वार भए पनि करिब ९९ प्रतिशत पर्यटक ठाकुरद्वाराबाटै निकुञ्ज प्रवेश गर्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ।
    पछिल्लो वन्यजन्तु गणनाअनुसार निकुञ्जमा १२५ वटा पाटेबाघ रहेका छन्। त्यसैगरी करिब १२० वटा जंगली हात्ती र ३८ वटा एकसिंगे गैंडा रहेको अनुमान गरिएको छ। यी वन्यजन्तु नै बर्दियाको पर्यटनको मुख्य आकर्षण बनेका छन्।
    निकुञ्ज आसपास पर्यटन पूर्वाधार पनि विस्तार हुँदै गएको छ। निकुञ्ज बाहिर ३० भन्दा बढी साना तथा ठूला होटल र २० वटा होमस्टे सञ्चालनमा रहेका छन्। निकुञ्ज भ्रमणसँगै पर्यटकहरूले खाता जैविक मार्ग, डल्ला, पत्थरबोझीलगायतका पर्यटकीय क्षेत्रको समेत अवलोकन गर्ने गरेका छन्।
    पर्यटन व्यवसायीहरूले बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय प्रचारप्रसार, सडक तथा हवाई पहुँच सुधार, सुरक्षा व्यवस्थाको थप सुदृढीकरण र नयाँ पर्यटन प्याकेज आवश्यक रहेको बताउँदै आएका छन्। उनीहरूका अनुसार यस्ता प्रयास प्रभावकारी रूपमा अघि बढेमा आगामी वर्षहरूमा पर्यटक आगमन वृद्धि भई स्थानीय पर्यटन व्यवसाय र अर्थतन्त्रमा थप सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

  • ४ श्रावण २०८३, सोमबार ०९:५९ प्रकाशित

  • Nabintech